विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिडबाट विश्वभरका स्वास्थ्यकर्मीहरु नराम्रोसँग प्रभावित भएको जनाएको छ । कोभिडबाट मात्र ८० हजार देखि १ लाख ८० हजारसम्म स्वास्थ्यकर्मीको मृत्यु भएको हुनसक्ने उसले जनाएको छ । सन् २०२० को जनवरीदेखि यसै वर्षको मे महिनासम्मको आकलन सङ्गठनले गरेको हो ।
‘स्वास्थ्यकर्मीलाई खोपमा प्राथमिकता दिनुपर्छ,’ डब्लूएचओका प्रमुख टेड्रोस एडहानोम गिब्रेससले भने । खोप वितरणमा देखिएको असमानताप्रति उनले असन्तुष्टि जनाए ।
विश्वभर १३ करोड ५० लाख स्वास्थ्यकर्मी रहेको अनुमान छ । ‘हरेक पाँचमध्ये दुई स्वास्थ्यकर्मीले पूर्ण खोप लगाएको ११९ देशमा संकलन गरिएको तथ्यांकले देखाएको छ ।, ’ डा. टेड्रोसले भने । तथ्यांकअनुसार अफ्रिकामा हरेक १० स्वास्थ्यकर्मीमध्ये मुस्किलले एक जनाले खोप लगाएका छन् जबकी उच्च आय भएका देशमा १० स्वास्थकर्मीमध्ये आठ जनाले खोप लगाएका छन् ।
यसअघि डब्लूएचओका अर्का वरिष्ठ अधिकारीले खोप सबैतिर पुर्याउन नसक्दा अर्को वर्ष पनि विश्वमा कोभिड महामारी रहिरहने चेतावनी दिएका थिए ।
खोप वितरणमा देखिएको असमानताका कारण स्वास्थ्यकर्मीको मृत्यु पनि महादेशअनुसार फरक फरक रहेको छ ।
अफ्रिकी महादेशमा ५ प्रतिशत भन्दा थोरै जनसंख्याले खोप लगाएका छन् भने अन्य महादेशमा ४८ प्रतिशतले खोप लगाएका छन् । उच्च र मझौला आय भएका देशका धेरै मानिसमा खोपको पहुँच भएको डब्लूएचओको भनाई छ ।
विश्वभर खोप लगाइएको कुल जनसंख्यालाई हेर्दा त्यसमध्ये अफ्रिकामा जम्मा २ दशमलब ६ प्रतिशतले मात्र लगाएका छन् ।