नेपाली कांग्रेसले १४ औं महाधिवेशन आउँदो मङसिर ९ देखी १३ गतेसम्म काठमाडौंमा गर्ने भनेको छ । त्यसै अनुसार गत भदौ १८ गते एकैदिन देशभर वडास्तरको अधिवेशन गर्ने भनियो । तर तोकिएको दिनमा त के त्यसपछि पटक पटक गरेर अधिवेशन गर्दा समेत हालसम्म वडा अधिवेशन पनि पूर्ण भएको अवस्था छैन । ६४ जिल्लामा मात्रै वडा अधिवेशन सकिएका छन् । सप्तरी, सिरहा, सर्लाही, बारा, पर्सा, रौतहट, महोत्तरी, धनुषा, सुर्खेत, डोल्पा, कैलाली, रसुवा र बाँके गरी १३ जिल्लामा वडा अधिवेशन हुन अझै बाँकी छ । त्यसो त कतिपय जिल्लामा गाउँ/नगर अधिवेशन पनि भैसकेका छन् र कतिपयमा त जिल्ला सभापति समेत चुनिइसकेको अवस्था छ ।
तर कांग्रेसको महाधिवेशन प्रक्रिया कार्यतालिका अनुसार सिधा रेखामा गएको देखिंदैन । अहिलेसम्म १३ वटा जिल्लामा वडा अधिवेशन पनि हुन नसक्नुलाई सहज परिस्थितिका रूपमा हेर्न सकिंदैन । क्रियाशील सदस्यता विवादलाई यसमा मुख्य कारणी ठहर्याइएको छ । यत्रो इतिहास बोकेको पार्टीले यति विवाद समाधान गर्न नसकेकैले महाधिवेशन हुन नसकेको हो भनेर राजनीतिमा चासो राख्ने सामान्य व्यक्तिको पनि चित्त बुझाउन सकिने अवस्था अब छैन ।
कोरोना संक्रमण र क्रियाशील सदस्यता विवाद देखाउँदै कांग्रेसले पटक पटक महाधिवेशनको मिति सारिसकेको छ । पहिलो कार्यतालिका अनुसार कांग्रेसको महाधिवेशन २०७७ सालको फागुन ७ देखी १० गतेसम्म तोकिएको थियो । दोस्रो पटक २०७८ भदौ ७ देखी १० लाई तोकियो भने तेस्रो पटक २०७८ साल भदौ १६ देखी १९ गतेलाई तोकियो । यी कुनै पनि मितिमा महाधिवेशन गर्न गतिलो तयारी नै भएको देखिएन ।
चौथो पटक तोकिएको मिति मङ्सिर ९ आउन पनि अब धेरै छैन । त्यसको लागि हुनु पर्ने वडा तहदेखिका अधिवेशनहरू बाँकी नै रहेको अवस्थामा अब यो मितिमा पनि महाधिवेशन हुन सक्ने देखिंदैन । अब कांग्रेसका पदाधिकारी तथा केन्द्रीय समितिको बैठक बसेर नयाँ मिति तोक्न मात्रै बाँकी छ ।
नेपालीहरूको महान चाड दशैँ भर्खरै सकिएको छ । तिहार, छठजस्ता ठूला चाडहरू एक पछि अर्को गरी आउँदै छन् । त्यसपछि हिउँद शुरु भैहाल्छ । पुस-माघ महिनामा हिमाली जिल्लाहरू तथा लेकहरूमा अत्यधिक चिसो हुन्छ । महाधिवेशन सार्नलाई यी आधारहरू बलिया छँदैछन् । यी सबै कुराहरूलाई विचार गर्दा कांग्रेसको महाधिवेशन अब छिटोमा फागुन नभई होलाजस्तो देखिंदैन । कांग्रेसका केन्द्रीयस्तरका नेताहरू पनि अनौपचारिक कुरा गर्दा मङ्सिरमा महाधिवेशन हुँदैन भन्नेमा स्पष्ट छन् । तर सरोस् भन्ने चाहना आफ्नो रहेको भनेर अर्थ्याइन्छ कि भनेर सार्वजनिक रूपमा मुख खोल्न सकेका छैनन् ।
हुन पनि कांग्रेसको आम पङ्क्तिलाई महाधिवेशनको हुटहुटीले छोएको देखिएकै छैन । संस्थापनइतरका केही नेताको झिनो स्वर बाहेक महाधिवेशन तत्काल गर्नुपर्छ भनेर संस्थापन पक्षले सक्रियता लिएको देखिएको पनि छैन । यो वा त्यो बहानामा महाधिवेशन टार्दैजानुमै संस्थापन पक्षलाई हाइसन्चो भएको देखिँदै छ । जसरी पनि अधिवेशन गतिविधिहरु सार्न संस्थापन लागेकोमा कुनै शङ्का छैन । संस्थापनइतर निरीह जस्तै देखिएको छ । यस अवस्थामा कांग्रेस महाधिवेशन २०७८ सालभित्र सम्पन्न नहुने विश्लेषण कांग्रेसजनहरुले गर्न थालेका छन् ।