तनहुँको भानु नगरपालिका–७ स्थित थानीमाई मन्दिरमा हिजो १८ वटा फूलको डोली भित्र्याइएको छ । प्रत्येक वर्ष कात्तिक महिनाको मङ्गलबार सो मन्दिरमा देशका विभिन्न ठाउँबाट आउने भक्तजनले फूलको डोली चढाउने गर्दछन् । मङ्गलबार दुई हजारभन्दा बढी भक्तजनले थानीमाईको दर्शन गरेको थानीमाई मन्दिर संरक्षण समितिका अध्यक्ष जीवन थापामगरले जानकारी दिए । “सोमबार राति ५५ भक्तजनले रातभर जाग्राम बसेर बत्ती बाल्नुभएको छ”, उनले भने ।
कात्तिकको प्रत्येक मङ्गलबार मन्दिरमा फूलको डोली चढाउन सर्वसाधारणको भीड लाग्ने गर्दछ । मन्दिरमा फूलको डोली चढाउनाले मनको इच्छा पूरा हुने धार्मिक विश्वास रहिआएको छ । सोमबार सत्यनारायणको पूजा गरी फूलको डोली तयार गर्ने र मङ्गलबार थानीमाई मन्दिरमा लगेर चढाउने परम्परा रहँदै आएको छ । मन्दिरमा कात्तिकसँगै मङ्सिर र माघ महिनामा समेत भक्तजनको भीड लाग्ने गरेको छ ।
फूलको डोली चढाउन जाँदा गाउँदेखि पञ्चेबाजा बजाउँदै लावालस्करसहित मन्दिरसम्म जाने गरिन्छ । उनीहरूले फूलको डोली र पञ्चेबाजासहित भजन गाउँदै र नाच्दै मन्दिरको तीनपटक परिक्रमा गर्दछन् । परिक्रमापछि माथि थुम्कामा रहेको मन्दिर परिसरमा रहेका देवलमा डोलीसँगै लगिएको तोरणलाई तीन फन्का घुमाएर बाँध्ने गरिन्छ । यसपछि मन्दिरभित्र प्रवेश गरी पूजाअर्चना गरिन्छ । बाजागाजा र जयजयकारको ध्वनिले थानीमाईको मन्दिर वरपरको वसन्तपुर क्षेत्र समेत गुञ्जायमान हुने गरेको छ ।
मन्दिरमा फूलको डोली चढाउन तनहुँका अतिरिक्त छिमेकी जिल्लाहरू गोरखा, लमजुङ र कास्कीकासाथै नवलपरासी र काठमाडौँबाट समेत भक्तजनहरू जाने गरेका छन् । मन्दिरमा साउन महिना, एकादशी र औँशीबाहेकका दिनमा पूजाअर्चना हुँदै आएको छ । पछिल्ला वर्षहरूमा थानीमाई मन्दिरसम्म जाने नयाँ सडकसमेत खुलेका छन् । सडक खुलेपछि भक्तजनको सङ्ख्या बढ्न थालेको जनाइएको छ ।
समुन्द्र सतहबाट १ हजार २०० मिटर उचाइमा अवस्थित यो मन्दिर क्षेत्रबाट गोरखाको लक्ष्मी बजार, लिगलिग कोट, पालुङटार, राइनासकोट लगायत हिमश्रृङ्खलाका दृश्य देख्न सकिन्छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेको मन्दिरको पुनःनिर्माण सम्पन्न भइसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु १४ लाख र मन्दिरको भेटीबाट सङ्कलित रु छ लाख गरी रु २० लाखको लागतमा मन्दिरको पुनःनिर्माण गरिएको हो ।
वि.सं. १८२५ मा एकदिन हावाहुरी बेस्सरी चलेका बेला भोटतिरकाजस्ता देखिने २ जना आमाछोरी हाल मन्दिर रहेको स्थानमा रूखमुनि ओत लागेर बसेका र त्यहीँबाट अन्तर्ध्यान भएका भन्ने किम्बदन्ति रहेको छ । सोही समयदेखि नै उक्त स्थानमा पूजाअर्चना सुरु भएको स्थानीयहरूको भनाइ छ । (रासस)