रसुवा भन्सार कार्यालय टिमुरेले असोज महिनामा लक्ष्य भन्दा ५९ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । रसुवा भन्सार कार्यालय टिमुरेका सूचना अधिकारी नरेन्द्र प्रसाद चौधरीका अनुसार असोज महिनामा कार्यालयले ५९ करोड १६ लाख ७६ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । तर कार्यालयले ९४ करोड १७ लाख ५१ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । जुन मासिक राखिएको लक्ष्यभन्दा ३५ करोड ७५ हजार रुपैयाँ बढी हो ।
रसुवा भन्सार कार्यालय टिमुरेले चालु आर्थिक वर्षमा ६ अर्ब ८१ करोड २१ लाख ९८ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । साउन, भदौ र असोज गरी तीन महिनामा वार्षिक लक्ष्यको २९ दशमलब ३७ प्रतिशत राजस्व असुली गरेको जनाइएको छ ।
कोरोना भाइरसको महामारीले गर्दा चीनसँगको अन्तर्राष्ट्रिय व्यापार प्रभावित भएको डेढ वर्षभन्दा बढी भएको छ । यसको असर भन्सार राजस्व संकलनमा पनि देखिएको छ । रसुवा भन्सार कार्यालयले गएको वर्ष वार्षिक लक्ष्यको आधा पनि राजस्व सङ्कलन गर्न सकेको थिएन ।
रसुवा भन्सार कार्यालयले निकासी, पैठारी, महसुल, सेवा शुल्क, कृषि सुधार, अन्तःशुल्क, भ्याट लगायतका शुल्कबापत भन्सार असुली गर्ने गर्दछ । चीनको केरुङबाट रसुवागढी नाका हुँदै अहिले नेपालतर्फ रेडिमेड कपडा, इलेक्ट्रोनिक लगायतका सामग्रीहरू भित्रिने गरेको छ । नेपालबाट केरुङतर्फ हस्तकलाका सामग्रीहरू जाने गरेको भएपनि कोरोना सङ्क्रमण सुरु भएयता चीनले एकतर्फी मात्र नाका खुला गरेकोले नेपालबाट हुने निर्यात भने शून्य छ ।
२०७६ को माघ १५ देखि २०७८ जेठ २२ सम्म नाका बन्द नै थियो । त्यसपछि चीनले रसुवागढी नाका एकतर्फी सञ्चालन गरेको हो । चीनले आफ्नै गाडीमा सीमा कटाएर नेपालतर्फ सामान ल्याइदिने गरेको छ । रसुवागढी नाकाबाट हाल दैनिक ७ देखि ९ चिनियाँ गाडीमा सामान नेपाल भित्रिने गरेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ ।
चिनियाँ गाडीमा आएको सामग्री अनलोड गरी नेपाली गाडीमा लोड गर्नका लागि सीमा नाकामा स्वास्थ्य मापदण्ड पालना गर्दै नेपाली कामदारहरू खटिएका छन् । चिनियाँ एउटा गाडीमा आएको सामग्री नेपाली दुईवटा कन्टेनर बराबर हुने गर्छ ।