हाल बङ्गालको खाडीमा र मध्यभारतमा न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा बदली हुनाका साथै वर्षा पनि गराएको छ । उत्तरतिर सर्दै गरेको उक्त मौसमी प्रणालीको प्रभावले नेपालका अधिकांश भू–भागमा सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा ठूलो वर्षा भइरहेको छ । मौसमविद् मञ्जु बासीका अनुसार अहिले लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश नं १ र २ मा हल्का वर्षा भइरहेको छ । पश्चिमी वायुको प्रभाव जारी रहेकोले अझै केही दिन बदली र वर्षा हुने उनले बताइन् । सुदूरपश्च्चिम र कर्णाली प्रदेशका केही स्थानमा भने आगामी तीन दिन ठूलो वर्षाको सम्भावना रहेको छ । पाकिस्तान र भारत हुँदै नेपाल प्रवेश गरेको पश्चिमी वायु अहिले नेपालको पूर्वी भागतर्फ सरिरहेको छ । यो वायु सुस्तगतिमा अघि बढ्ने भएकाले नेपालमा अझै केही दिन असर रहने मौसमविद् बासीले बताइन् ।
काठमाडौँ उपत्यकामा आइतबारदेखि नै बदली हुनाका साथै कतिपय स्थानमा हल्का वर्षासमेत भइरहेको छ । देशको पश्चिमी भेगमा ठूलो वर्षा भएको छ । महाशाखको पछिल्लो विवरण अनुसार डडेलधुरामा ११६, दिपायलमा ९५, धनगढीमा ८०, वीरेन्द्रनगरमा, ५९, घोराहीमा ४८ र नेपालगञ्जमा ३९ मिलिमिटर वर्षा भएको थियो ।
मौसम पूर्वानुमान बुलेटिनमा १ नं प्रदेश, २ नं प्रदेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा आगामी तीन दिनसम्म ठूलो वर्षाको सम्भावना रहेको उल्लेख छ । रातिको समयमा पनि प्रदेश नं १, प्रदेश नं २का साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ । देशका पश्चिमी, उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।