रसुवाको चिलिमे क्षेत्रमा निर्माणाधीन तल्लो साञ्जेन जलविद्युत् आयोजानको अधिकांश भौतिक संरचना निर्माणको काम सकिएको छ । सन् २०१३ मा निर्माण सुरू भएको ४२.५ मेगावाट क्षमताको उक्त आयोजनाको ३ हजार ६३० मिटर हेडरेस् सुरुङ, १ हजार ५१ मिटर उचाइको सर्ज ट्याङ्क, ४७८ मिटर पेनस्टक सुरूङ तथा विद्युत्गृहसमेत निर्माण सम्पन्न भइसकेको छ । विद्युत्गृहमा पानी ल्याउने सुरूङको निर्माणपश्चात् कङ्क्रिट तथा पेनस्टक सुरूङमा पाइप राख्ने कामसमेत धमाधम अगाडि बढिरहेको आयोजनाले जनाएको छ ।
संरचना निर्माणको समग्र प्रगति ८४ प्रतिशत पूरा भए पनि विद्युत् गृहभित्र उपकरण जडानको काम भने हुन सकेको छैन । उपकरण जडानको प्रगति ५० प्रतिशत हासिल गर्नुपर्ने समय बितिसक्दा पनि कामको जिम्मा लिने कम्पनीका चिनियाँ प्राविधिक नआइदिंदा काममा विलम्ब भएको छ । चिनियाँ प्राविधिकले कोरोनाको समस्या देखाइ कार्यस्थलमा आउन आनाकानी गरिरहेको जनाइएको छ ।
छिटोभन्दा छिटो उपकरण जडान गरिदिन प्राविधिक समूहसँग संवाद भइरहेको आयोजना प्रमुख अर्पणबहादुर सिंहले बताएका छन् । विद्युत्गृहको उपकरण जडानको लागि कार्य प्रारम्भ भएको मितिले लगभग एक वर्ष लाग्ने भएकाले जडानकर्तालाई छिटो आइदिन ताकेता भइरहेको बताइन्छ । आयोजना प्रमुख सिंहका अनुसार उक्त विद्युत् आयोजना सम्पन्न गर्न प्रतिमेगावाट रु १२ करोड ६३ लाख खर्च हुने अनुमान छ ।
यस्तै १४.८ मेगावाटको माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाले पनि निर्माण गर्नुपर्ने ९८ प्रतिशत संरचना तयार पारी उपकरण जडानका लागि चिनियाँ प्राविधिकको प्रतीक्षा गरिरहेको छ । चिनियाँ प्राविधिक नआएकै कारण सिम्बुगाउँमा निर्माण भएको माथिल्लो विद्युत्गृहमा समेत उपकरण जडान हुन नसकेको आयोजना प्रमुख सुदन महतले जानकारी दिए ।
तिलोचे बगरमा बाँधिएको बाँधबाट ल्याइएको चिलिमे खोलाको पानीले कूल ५७.३ मेगावाट विद्युत् उत्पादन हुने गरी सिम्बु र चिलिमे टारसमेत दुई स्थानमा छुट्टाछुट्टै विद्युत्गृह निर्माण भइसकेका छन् । पानीको स्रोत एउटै हुँदा सिम्बुमा रहने माथिल्लो विद्युत्गृह बन्द गर्नुपर्ने अवस्था आए पनि सोही पानीले तल्लो विद्युत्गृह भने निर्वाधरूपले सञ्चालन हुने जनाइएको छ ।
तल्लो साङ्जेन जलविद्युत् आयोजनाको निर्माण ढिलाइ हुनुमा विगतमा भएको पेट्रोलिम पर्दाथको अभाव, विसं २०७२ को विनाशकारी भूकम्प, कोभिड रोगको सङ्क्रमण तथा पटक पटक आयोजना प्रमुखको फेरबदलजस्ता कारण रहेको बताइएको छ ।