नेपाली हास्यविधाका विख्यात कलाकार मनोज गजुरेलले दोस्रो विवाह गरेका छन् । मञ्जु पोखरेलसँग आफ्नो विवाह भएको उनले सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेका छन् । मञ्जु नेपाल सरकारको न्याय सेवाकी अधिकृत हुन् । उनीहरूको आज विहान भक्तपुरको डोलेश्वर महादेव मन्दिर परिसरमा विवाह सम्पन्न भएको हो ।
फेसबुकमा उनले लेखेका छन्,- “हामीले आज मिति २०७८ साल असोज २५ गते सोमबार बिहान डोलेश्वर महादेवको दर्शन गर्यौं । त्यसपछि परिवारको उपस्थितिमा त्यहीँ विवाह सम्पन्न गर्यौँ । अनि, सपरिवार मानवसेवा आश्रम (कौशलटार)मा रहेका बुवाआमालाई खाना खुवाएर/खाएर विवाह सम्पन्न गरेकाछौँ ।“
४ वर्ष अघि उनकी पहिली पत्नीसँग सम्बन्ध विच्छेद भएको थियो । त्यसपछि एक छोरा र एक छोरीको एकल अभिभावको रूपमा जीवन अघि बढाउँदै जाँदा सहयात्रीको अभाव खड्किएको र छोराछोरीको आग्रह पनि भएकाले आफूले विवाह गरेको उनले उल्लेख गरेका छन् ।
“जीवनयात्राको दौरानमा आत्मीय साथको आवश्यकता महशुस हुनु स्वाभाविकै हो । मेरा बाबु-नानीको शिक्षा, स्वास्थ्य र भविष्यको बारेमा संवेदनशिल हुनुपनि जरुरी थियो । यी दुबै अवस्थामा साथदिने सहयात्रीको अभाव समयक्रममा खड्किँदै आयो । बाबुनानीको आग्रह पनि यस्तै आउन थाल्यो । यसै क्रममा नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलजीसँग मेरो चिनजान हुनपुग्यो । बिस्तारै हाम्रो घनिष्टता बढ्न थाल्यो । एकैखालको परिबेश र उस्तै खालको भोगाईबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौं ।“
बिगतमा अराजक अन्तर्वार्ता, असामाजिक क्रियाकलाप तथा अभद्र व्यवहारका कारण आफू र आफ्ना छोराछोरीले ठूलो आघातबाट गुज्रनु परेको उल्लेख गर्दै उनले जथाभावी असंवेदनशील हुने गरी समाचारहरू नबनाइदिन मिडियाकर्मीहरूलाई आग्रह गरेका छन् । उनले लेखेका छन्, -
“सम्पुर्ण मिडियाकर्मी साथीहरुलाई सादर अनुरोध छ- कृपया मेरो व्यक्तिगत जीवनका बारेमा काल्पनिक समाचार नलेखिदिनुहोला । मन्जुजीको इज्जत र प्रतिष्ठामा आँच आउने अमर्यादित कथा नकथिदिनुहोला । हाम्रा सन्तानको सुख र शान्तीकालागी परपीडक ट्रोल र भिडियो नबनाईदिनु होला !”