प्रधानमन्त्री शेरबहादुर देउवाले साक्षर गण्डकी प्रदेश स्तम्भ अनावरण गरेका छन् । गण्डकी प्रदेशको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयद्वारा पोखरा महानगरपालिका-९ नयाँबजारस्थित क्षेत्रीय सङ्ग्रहालय परिसरमा निर्मित स्तम्भ प्रधानमन्त्री देउवाले आज अनावरण गरेका हुन् ।
प्रदेश मन्त्रिपरिषद्को गत भदौ ३० मा बसेको बैठकले सबै जिल्ला साक्षर घोषणा भइसकेकाले साक्षर गण्डकी अवधारणापत्र स्वीकृत गरी साक्षर प्रदेश घोषणा गर्ने निर्णय गरेको थियो । घोषणाका लागि लक्षित समूहका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर हुनुपर्ने प्रावधान छ । प्रदेश सरकारको अघिल्लो नीति तथा कार्यक्रममा दुई वर्षभित्र घोषणा गर्ने बताइएको थियो ।
तथ्याङ्कअनुसार नवलपुरमा सबैभन्दा बढी ९८ प्रतिशत नागरिक साक्षर छन् । सबैभन्दा कम लमजुङमा ९५.५ प्रतिशतमात्रै नागरिक साक्षर भएको तथ्याङ्क छ । मुस्ताङ ९६.३५, स्याङ्जा ९६.१६, कास्की ९६, तनहुँ ९६.४, बागलुङ ९६.५७, मनाङ ९६.९, गोरखा ९७.२, म्याग्दी ९६.२७ र पर्वतका ९६.९३ प्रतिशत नागरिक साक्षर भइसकेका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
जिल्लागतरूपमा सबै जिल्ला साक्षर घोषणा भइसकेका छन् । मुस्ताङ सबैभन्दा पहिलो साक्षर जिल्ला घोषणा भएको हो । वि.सं. २०७१ असार ३१ मा मुस्ताङ घोषणा भएको हो भने सबैभन्दा अन्तिममा पर्वत वि.सं. २०७४ माघ १८ मा घोषणा भएको थियो ।