धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । गत साता सामान्य अङ्कले सुधार भएको बजारमा यस साताको पहिलो कारोवार दिन नै नेप्से ५४.३१ विन्दुले उकालो लागेर तीन हजार ५८.६३ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.७४ विन्दुले बढेर ५७४.०२ मा पुगेको छ । नेप्सेमा उच्च अङ्कको वृद्धिसँगै कारोवार रकम पनि आज उल्लेख्य वृद्धि भएको छ ।
आज कुल २२३ कम्पनीका चार करोड ३९ लाख ३९ हजार २१२ कित्ता शेयर रु १४ अर्ब २३ करोड २४ लाख १७ हजार ४७२ मूल्यमा खरिद बिक्री भए । कारोवार भएका कुल १३ उपसमूहमध्ये आज ११ वटा उपसमूहको शेयर उकालो लागेको छ भने दुईवटा उपसमूहको शेयर मात्रै ओरालो लागेको छ । बैंकिङ ७२.१४, व्यापार २.७१, विकास बैंक १३, जलविद्युत् ७१.६, निर्जीवन बीमा ४८.४२, उत्पादन ७१.८६, अन्य ६.६, लघुवित्त ८६.२३, जीवन बीमा ३०.८६ र लगानी ०.०४ विन्दुले बढेको छ ।
कारोवारका आधारमा आज नेपाल बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ४९ करोड ७६ लाख ६५ हजार १८२ मूल्यमा खरिद बिक्री भए । यस्तै, ग्लोबल आइएमई बैंक रु ४९ करोड ४४ लाख ३९ हजार , एनसिसी बैंक रु ३४ करोड ७८ लाख ९८ हजार ५६८, अरुण काबेली पावर रु ३४ करोड दुई लाख ६५ हजार ५३७ र एनआइसि एशिया बैंक रु ३३ करोड ८० लाख ४५ हजार ३५१ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । नेप्सेका अनुसार विशाल बजार कम्पनी, ङादी ग्रुप अफ पावर, सर्पोट माइक्रोफाइनान्स, राधी विद्युत् कम्पनी, पञ्चकन्या माई हाइड्रोपावर, कालिका पावर कम्पनी, जोशी हाइड्रोपावर, युनिभर्सल पावर र हमालयन ऊर्जा विकास कम्पनीको शेयरमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।
होटेल तथा पर्यटन २२.५ र सामूहिक लगानी कोष ०.२४ विन्दुले घटेको छ । लक्ष्मी उन्नती कोष ३.९५, कुमारी इक्विटी फण्ड ३.७०, लक्ष्मी बैंकको ऋणपत्र ३.३०, ओरियन्टल होटल २.८८ र प्रभु सेलेक्ट फण्डका लगानीकर्ताले २.७३ प्रतिशतले गुमाएका छन् । आजको कारोवारपछि बजार पूँजीकरण रु ४२ खर्ब ५४ अर्ब ७५ करोड ३० लाख ३३ हजार ७५६ बराबर पुगेको छ ।