मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणसँग जोडिएको ३३ किलो सुन तस्करीसम्बन्धी मुद्दामा जिल्ला अदालत मोरङले ८ जनालाई दोषी ठहर गरेको छ । न्यायाधीश भरत लम्सालको इजलासले मंगलबार आठजना प्रतिवादीलाई दोषी ठहर गरेको हो ।
अदालतले उनीहरूलाई भिन्दाभिन्दै सजाय तोकेको छ । प्रतिवादीमध्ये मुख्य अभियुक्त मोरङ उर्लाबारीका ‘गोरे’ भनिने चूडामणि उप्रेतीसहित ६ जनालाई अदालतले जन्मकैदको फैसला सुनाएको छ । एक जनालाई ३ वर्ष र अर्का एकजनालाई ६ महिना कैद सजायको फैसला गरेको अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले बताए ।
उनका अनुसार ‘गोरे’सहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई जन्मकैदको फैसला सुनाइएको छ । यो फैसलासँगै उनिहरूले २० बर्ष जेल बस्नुपर्ने भएको छ ।
अपहरण तथा शरीर बन्धक मुद्दामा ‘गोरे’को कसुर कायम भएको छ । धमलाका अनुसार यसको सजाय निर्धारणका लागि पुनः पेस गरिने छ । मुद्दाका प्रतिवादीमध्ये भारतीय नागरिक राजन कुमारलाई तीन वर्ष र माधव भनिने मदन घिमिरेलाई ६ महिना कैद सजाय फैसला भएको अदालतका श्रेस्तेदार टिकेन्द्रवीर जंग राणाले बताए । मुद्दामा दोषी ठहर भएकाहरू ‘गोरे’को समूहका सहयोगी र उनका सवारी चालकहरू हुन् ।
मुद्दामा ७७ जनालाई प्रतिवादी बनाइएको थियो । प्रतिवादीमध्ये उच्च प्रहरी अधिकारी र गोरेकी पत्नी निरु भानिने नर्वदा खरेलसहित ४८ जनाले सफाइ पाएको राणाले जानकारी दिए । मुद्दामा नेपाल प्रहरीका पूर्वडीआईजी गोविन्दप्रसाद निरौला, एसएसपी श्यामबहादुर खत्री, दिवेश लोहनी, डीएसपीहरू सञ्जयबहादुर राउत, प्रजित केसी, सई बालकृष्ण सन्जेललगायत प्रहरी कर्मचारीलाई प्रतिवादी बनाइएको थियो ।
संगठित अपराध, भन्सार ऐन र अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दामा ४८ जनाले सफाइ पाएका हुन् । फरार रहेका २१ जनाको हकमा मुद्दा मुल्तवीमा राखिएको श्रेस्तेदार राणाले बताए । उनका अनुसार दुई वर्षसम्म अभियुक्त पक्राउ नपरेमा वा हाजिर नभएमा मुल्तवीमा रहेको मुद्दालाई जगाएर अदालतले फैसला गर्ने छ ।
९ माघ ०७४ मा ‘गोरे’को समूहले दुबईबाट तस्करी गरेर काठमाडौं ल्याएको साढे ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निकाल्ने क्रममा गायव भएको थियो । सुन गायव बनाएको आरोपमा ‘गोरे’सहित उनको समूहले १८ फागुनमा ०७४ मा मोरङ उर्लाबारी नगरपालिका-१ का सनमलाई करेन्ट लगाएर यातना दिँदै हत्या गरेको आरोप छ ।