गुरुशुश्रूषया विद्या पुष्कलेन धनेन वा ।
अथवा विद्यया विद्या चतुर्थं नोपलभ्यते ।।
-नारदस्मृति
गुरुको सेवा गर्नाले विद्या प्राप्त हुन्छ । धेरै धन खर्चेर अथवा विद्याको निरन्तर अभ्यासले विद्या हासिल गर्न सकिन्छ, चौथो उपाय छैन विद्यालाभ गर्ने । विद्या या ज्ञानको मुख्य स्रोत गुरु नै हो भन्ने यसबाट सिद्ध हुन्छ । त्यसैले सनातन परम्परामा गुरुलाई ब्रह्मा, विष्णु, र महेश्वरको कोटिमा राखिएको छ :
गुरुर्ब्रह्मा गुरुर्विष्णुर्गुरुर्देवो महेश्वर: ।
गुरु: साक्षात् परं ब्रह्म तस्मै श्रीगुरवे नम: ।।
गुरुलाई यहाँभन्दा माथि पुर्याउने ठाउँ छैन । किन यत्रो महत्त्व दिइयो त गुरुलाई? गुरुको दृष्टान्त नै छैन अर्को। त्यसैले भनियो- “दृष्टान्तो नैव दृष्टस्त्रिभुवनजठरे सद्गुरोर्ज्ञानदातु: ।” यथार्थ ज्ञान दिएर जीवनलाई धन्य बनाउने सद्गुरुको कुनै दृष्टान्त छैन । त्यसैले ईश्वरको उपमा दिएको हो । दुई अक्षर भएको गुरु शब्दको अर्थ मनिषीहरूले यसरी गरेका छन्-
‘गु ’ शब्दस्त्वन्धकार: स्याद् ‘रु’ शब्दस्तन्निवारक: ।
अन्धकारनिरोधित्वाद् “गुरु” रित्यभिधीयते ।।
अर्थात् ‘गु’ भनेको अन्धकार र ‘रु’ भनेको त्यसको नाशक भएकोले ‘गुरु’ शब्द सार्थक छ । संसार विशाल सागर जस्तो छ । मानिसले सच्चा गुरु पाएन भने यहीं डुब्दछ । उत्रन सक्दैन । दुर्लभ मानवजन्म पाएर सद्गुरुको उपदेशबाट संसाररुपी सागर तरेन भने त्यस्तो मानिसलाई आत्मघाती ठहर गरेको छ । जस्तै श्रीमद्भागवत्मा भनिएको छ-
नृदेशमाद्यं सुलभं सुदुर्लभं प्लवं सुकल्पं गुरु-कर्णधारम् ।
मयानुकूलेन नभस्वतेरितं पुमान् भवाब्धिं न तरेत् स आत्महा ।।
अबोध, निर्दोष, निरीह अवस्थामा मानिस यस धर्तीमा पैदा हुन्छ । अग्रजको व्यवहारबाट उसले सांसारिक पदार्थको ज्ञान गर्दै जान्छ । विद्यारम्भ वा उपनयन संस्कारपछि उसले जीवनमार्गको उत्कर्षतिर लैजाने शिक्षक वा गुरु प्राप्त गर्दछ । गलत गुरु पर्यो भने मानिस भड्खालामा पर्दछ । असल र सच्चा गुरुको मार्गदर्शन पायो भने जीवन धन्य बन्दछ । त्यसैले हाम्रो परम्परामा गुरुले शिष्यको परीक्षा गर्ने र शिष्यले सच्चा मार्गदर्शक गुरुको चयन गर्ने परिपाटी छ । शास्त्रमा असल गुरुको लक्षण यस प्रकार बताइएको छ-
सुन्दर: सुमुख: स्वच्छ: सुलभोबहुतन्त्रवित् ।
असंशय: संशयछिन्निरपेक्षो गुरुर्मत: ..
देख्ता आकर्षक, विविध शास्त्रको ज्ञाता, संशयमुक्त, शिष्यको सन्देह निवारण गर्न सक्ने र शिष्यबाट कुनै वस्तुको आशा नराख्ने निर्लोभ व्यक्ति गुरु हुन सुहाउँछ ।
गुरुको दर्शन, स्पर्श र सम्भाषणबाट तुरुन्त चेतनाको सञ्चार हुनुपर्छ । त्यसो भएमात्र गुरुको गुरुत्व सिद्ध हुन्छ अन्यथा गुरुको नाउँमा एउटा आडम्बरीको पूजा गरिरहेको हुन्छ । शास्त्र भन्छ-
गुरोरालोकमात्रेण स्पर्शात् सम्भाषणादपि ।
सद्य संज्ञा भवेज्जन्तोर्दीक्षा सा शाम्भवी मता ।।
यस्तै विशेषता हुनाले नै “आचार्य देवो भव” (आचार्य (गुरु) लाई देवता मान) भन्ने उपदेश वाक्यको प्रयोग भएको हो ।
मनुस्मृतिमा ज्ञानको शिक्षा विभिन्न प्रकारका गुरुहरूको निर्देश गरिएको छ । आफ्नो आचरण प्रस्तुत गरेर यज्ञविद्या र उपनिषदादि शास्त्रको ज्ञान गराउनेलाई “आचार्य”, विद्यार्थी पढाएर वृत्ति चलाउनेलाई “उपाध्याय” र गर्भाधान आदि संस्कारहरूको शिक्षा दिनेलाई “गुरु” भनेर वर्गीकरण गरिएको छ त्यहाँ । गुरुगीतामा गुरुका विवध पक्षको विभिन्न महिमा बताइएको छ । भागवत्मा पृथ्वी, सूर्यदेखि माकुरो र कमलकोटीसम्मका २४ गुरुको बयान गरिएको छ । यी सबै व्यावहारिक ज्ञान गराउने गुरु हुन् ।
वास्तवमा तत्त्वज्ञान गराउने गुरु नै यथार्थमा गुरु हो । यस्तो गुरु प्रारब्धले नै प्राप्त हुन्छ । अहिलेको समयमा होश गर्नै पर्ने चाहिँ के छ भने गुरुका नाउँमा पाखण्ड फैलाउने र पैसा असुल्ने नियतका व्यक्तिहरूबाट टाढै रहौं । पण्डित-पुरोहित भन्ने, रङ्गीचङ्गी वेषभूषामा देखापर्ने, आचारवर्जित, विज्ञापनधर्मी, मुहूर्त र शास्त्रको पालन नगर्नेले समाज भाँडिरहेका छन् । यस्ताबाट सावधान रहेर स्वधर्मको पालना गर्नु हाम्रो कर्तव्य हो । आचारवान्, विद्यावान्, शिष्यको हित चाहने गुरुको खोजी गर्नुपर्दछ ।
गुरुका भेद र प्रकार अनेक छन् । तीमध्ये कूर्मपुराणमा बताइएका ५ किसिमका गुरुको महिमा हामीले बुझ्नु पर्दछ । ती हुन्-
यो भावयति या सूते येन विद्योपदिश्यते ।
ज्येष्ठो भ्राता च भर्ता च पञ्चैते गुरव: स्मृता: ।।
गुरुहरूले शिष्यलाई पुत्रवत् व्यवहार गर्ने आदर्श परिपाटी सनातन परम्परामा थियो । व्रतबन्धपछि वेद आदि शास्त्र पढाई व्यावहारिक ज्ञान प्रदान गरेर समर्थ बनाई कर्मक्षेत्रमा पठाइन्थ्यो । शौच, सन्ध्या, भोजन, अनुशासन, कार्यशैली, शयन लगायत सम्पूर्ण ज्ञान गुरुले गराउने चलन थियो । गुरुकुलमा सर्वाङ्गीण शिक्षा दिइन्थ्यो । पढेर घर जाने बेलामा गुरुले अत्यन्त जीवनोपयोगी शिक्षा दिने प्रचलन थियो । जस्तै-
सत्यं वद । धर्मं चर । मातृदेवो भव । पितृ देवो भव । इत्यादि । शिक्षा दिने गुरुको कर्तव्य हुन्थ्यो । श्रद्धाले शिष्यलाई बिना भेदभाव गुरुबाट ज्ञान प्रदान गरिन्थ्यो । कृतज्ञ, अद्रोही, मेधावी, पवित्र आचारविचारको, रीस-डाहा नगर्ने, विद्यार्थीलाई पढाउनु गुरुको धर्म नै हुन्थ्यो । याज्ञवल्क्य लेख्दछन्-
कृतज्ञाद्रोहिमेधाविशुचिकल्पानसूयका: ।
अध्याप्या धर्मत: साधुशक्ताप्तज्ञानवित्तदा: ।।
मनुले यस्ता दश शिष्यलाई गुरुले पढाउनै पर्ने भनी उल्लेख गरेका छन्-
आचार्यपुत्र: शुश्रूषुर्ज्ञानदो धार्मिक: शुचि: ।
आप्त: शक्तोऽर्थद: साधु: स्वोऽध्याप्या दश धर्मत: ।
गुरु-शिष्य सम्बन्ध अर्थमा आधारित थिएन । शिष्यले समाजमा, राष्ट्रमा ठोस योगदान गरोस् भन्ने भावनाले उतिखेर पढाइन्थ्यो । अझ सामाजिक मात्र होइन धार्मिक र आध्यात्मिक समुन्नतिका निम्ति अध्ययन अध्यापन गर्ने उत्कृष्ट परम्परा थियो । आज यस्तो महनीय परिपाटिको अन्त भएको छ । धनको लागि पढाउने गुरु र भौतिक उन्नतिको लागि पढ्ने शिष्यको सम्बन्ध हिजोआज व्यापारी र उपभोक्ताको जस्तो छ । यसबाट अनेक विकृति र विसंगति फैलिइरहेका छन् । यस्तो शिक्षानीति अत्यन्तै घातक छ । भ्रष्टाचार, दुराचार, अनैतिकता, फेशनमुखी प्रवृत्ति, परधर्मिता, परिनिर्भरता, उच्छृंखलता, जस्ता आधुनिक शिक्षाका दुर्गुण हामीले भोग्नु परेको छ । उपनयनका बेला आफ्नै गर्भमा (३ रात) राखेर गायत्री प्रदान गर्ने गुरुको आज खाँचो छ । तर हाल यस्तो कुरा सुन्न पनि मान्छे तयार छैन । जे होस्, गुरुको महिमा र गरिमा चाहिँ अखण्डित नै छ । एक दिन फेरि त्यो गौरव फर्कन्छ भन्ने सोचौं । ॐ गुरवे नम: ।
अखण्डमण्डलाकारं व्याप्तं येन चराचरम् ।
तत्पदं दर्शितं येन तस्मै श्रीगुरवे नम: ।।