केन्द्राध्यक्ष गोलाप्रथाबाट छान्नु पर्ने प्रदेश सरकारको प्रस्ताव नामान्दा मधेशका धेरै एसईई परीक्षा केन्द्रमा परीक्षाको मर्यादा भङ्ग भएको खबर छ । निजी विद्यालयको सेटिङमा केन्द्र र केन्द्राध्यक्ष तय गर्ने गरेको आरोप छ । यस्तो सेटिङले मधेश प्रदेशकै छवि बिग्रेको भन्दै प्रदेश सरकारले गोलाप्रथाबाट सेटिङ भत्काउन माग गरेको थियो ।
यसैबीच पर्सामा एसइईमा मर्यादाविपरीत कार्य गर्ने सहायक केन्द्राध्यक्षसहित चार निरीक्षकलाई जिम्मेवारीबाट हटाइएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल (प्रजिअ)को अध्यक्षतामा शनिबार साँझ बसेको एसइई परीक्षा समन्वय समितिको बैठकले उनीहरुलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो ।
माइस्थान विद्यापिठ माध्यमिक विद्यालय वीरगन्जका केन्द्राध्यक्ष मुनिलाल कर्णले परीक्षाको मर्यादा र अनुशासन परिपालनामा पर्याप्त सावधानी तथा सतर्कता अपनाएको नदेखिएकाले निजलाई सचेत गराउने निर्णय गरिएको छ भने सोही केन्द्रका सहायक केन्द्राध्यक्ष जयप्रकाश सर्राफको गतिविधि संकास्पद देखिएकाले निजलाई परीक्षा अवधिभर उक्त परीक्षा केन्द्रमा प्रवेश निषेध गरिएको छ ।
त्यसैगरी नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, मसिहानी र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, निचुटा परीक्षा केन्द्रमा अभिभावक सङ्घलगायत अनधिकृत व्यक्तिको प्रवेश गरेको देखिएको छ । उक्त केन्द्रका केन्द्राध्यक्षलाई लिखित रूपमा ध्यानाकर्षण गराउने निर्णय बैठकले गरेको छ । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, मसिहानी केन्द्रमा निरीक्षकका रूपमा खटिएका शिक्षक लालबाबु यादवले परीक्षाको मर्यादाविपरीत कार्य गरेकाले निजलाई निरीक्षकको जिम्मेवारीबाट हटाइएको ।
सिद्धार्थ माध्यमिक विद्यालय चिनी कारखाना वीरगन्ज परीक्षा केन्द्रका संस्थागत विद्यालयमा समेत अध्यापन गराउने धमेन्द्र पाण्डे र रामबालक यादवलाई निरीक्षकको जिम्मेवारीबाट हटाइएको छ । सुन्दरमल रामकुमार कन्या माध्यमिक विद्यालय वीरगन्ज परीक्षा केन्द्रमा नियमिततर्फका परीक्षार्थीलाई ग्रेडवृद्धितर्फको प्रश्नपत्र दिएको र ग्रेडवृद्धितर्फका परीक्षार्थीलाई नियमिततर्फको प्रश्नपत्र वितरण गरिएको पाइएको छ । अब परीक्षा केन्द्रहरुमा प्रश्नपत्र परीक्षा समयभन्दा ठिक २० मिनेट अगाडि मात्र खोल्ने व्यवस्था मिलाउन निर्देशन बैठकले निर्देशन दिएको छ ।