प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफैँमाथि भ्रष्टाचारको छानबिन गर्न सरकारलाई चुनौती दिएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै उनले सरकारले जारी गरेका अध्यादेशमा जनता नभई स्वार्थ समूहको हित हेरिएको आरोप लगाए । अध्यादेशले जनताको समस्यालाई सही ढङ्गले समाधान नगर्ने पनि उनले बताए ।
“भूमि तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनका संशोधित प्रावधानले वास्तविक भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले जोतभोग गरिरहेको जग्गाको लालपूर्जा पाउन सहज हुन्छ कि झन् कठिन, जटिल र महँगो हुन्छ ?”, अध्यक्ष दाहालले प्रश्न गरे, “मध्यवर्ती क्षेत्रका जग्गालाई जग्गा उपलब्ध गराउन नसकिने नकरात्मक सूचीमा राखेर लाखौँ भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको भूमि अधिकार कुण्ठित गर्न खोजिएको छ । भूमि ऐनमै मध्यवर्ती क्षेत्र नकारात्मक सूचीमा राखिसकेपछि निकुञ्ज ऐन संशोधनको के औचित्य छ ?”
अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउँदा भूमिको वर्गीकरण र मूल्याङ्नमा रहेको अवैज्ञानिक प्रणाली सच्चाउने, गरिबहरू, ग्रामीण क्षेत्र र कृषिको प्रयोजनमा भएको जग्गाको थोरै शुल्क तिरे हुने र धनी, सहरी क्षेत्रका र आवासको प्रयोजनका लागि दिने जग्गालाई धैरै शुल्क असुल गर्ने व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो । अध्यक्ष दाहालले किसानको आफ्नो स्वामित्वको जग्गाको सानो टुक्रालाई घडेरीको रूपमा बेच्न पाउने अधिकार कुण्ठित गर्दै गरिब जनता र साना ‘रियल स्टेट’लाई अप्ठ्यारो पारेर सबै आवास प्रयोजन र घर–घडेरीको जग्गालाई ठूला ‘रियल स्टेट’ र भूमाफियाहरूको कब्जामा पुर्याउने वातावरण तयार गर्न खोजिएको भनी आशंका व्यक्त गरे । अध्यक्ष दाहालले भूमिसम्बन्धी समस्या समाधान गर्ने दाबी गरेर अध्यादेश ल्याइए पनि यसले स्वर्गद्वारी गुठीलगायत विषय सम्बोधन गर्न नसकेको उल्लेख गरे ।
उनले रवि लामिछानेलाई पहिले प्रधानमन्त्री बन्न प्रस्ताव गर्ने र अहिले प्रतिशोधका लागि जिल्लाजिल्ला घुमाएर सहकारी ठग भन्दै मुद्दा लगाएको प्रतिक्रिया पनि जनाए । उनले आफू जोडिएको विषयमा छानबिन गर्न माग गरे । ‘शेरा दरबारको छानबिन गरौँ’ अध्यक्ष दाहालले आफूलाई जोडेर चर्चामा ल्याइएको नुवाकोट स्थित शेरा दरबारको निष्पक्ष छानविन सुरु गर्न सरकारसँग माग गरेका हुन् । उनले भने, “म यही रोस्टमबाट भन्छु, शेरा दरबारमा मेरो नाम जोडिन्छ भने छानविन सुरु गरौं र मबाट सुरु गरौँ ।”
उनले बोल्दा प्रधानमन्त्री केपी ओली भने सदनमा थिएनन् ।