संसद अधिवेशनको पहिलो दिन सरकारले निर्वाध आफ्ना कुरा र ६ वटा विधेयक प्रतिनिधिसभामा राखेको छ भने प्रमुख प्रतिपक्षी नेता प्रचण्डले भने बोलेनन् । विपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीले शुरुमा आफूले बोल्न नपाएको भन्दै १५ मिनेट सदन बहिस्कार गरेर विरोध गरेको थियो । १५ मिनेटपछि रास्वपा सांसदहरू प्रधानमन्त्री कपी ओलीले बोलिरहेको अवस्थामा सदनमा फर्किएका थिए । प्रधानमन्त्री ओलीले २९ वटा कानूनमा अध्यादेशबाट संशोधनमार्फत् सरकारले राम्रा काम गरेको भन्दै साढे छ महिनाको अवधिमा उल्लेखनीय काम गरेको र निजी क्षेत्रको मनोबल बढेको दावी गरे । कांग्रेस र एमाले सरकार गठन भएपछि माओवादीले धोका दिएर सरकार फेर्ने प्रचलन समाप्त भएको पनि उनले बताए ।
बैठकमा अरु दलका अधिकतर नेताहरूले भने प्रधानमन्त्रीको भनाइको प्रतिवाद गरेका थिए । खासगरी राप्रपाका राजेन्द्र लिङदेनले स्वाभाविक रुपमा भएका क्रमागत योजनालाई पनि सरकारले आफूले गरेको दावी गर्नु ठीक नभएको भनी प्रश्न उठाएका थिए । निजी क्षेत्र खुशी भएपनि किसान र सर्वसाधारण निरास भैरहेकोतर्फ पनि विपक्षीहरूले आवाज उठाएका थिए । संसदलाई होच्याएर अध्यादेशहरू ल्याएकोमा पनि विरोध प्रकट भएको छ ।
यसैबीच सरकारले प्रतिनिधिसभामा छ वटा अध्यादेशहरू निर्बाध पेश गरेको छ । प्रधानमन्त्री ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गरे । सेवाग्राहीलाई छिटो, छरितो सेवा दिने र सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनका लागि कतिपय ऐनका प्रावधान तत्काल संशोधन गर्नुपर्ने आवश्यक रहेकाले अध्यादेशमार्फत् ती व्यवस्थाहरू अध्यादेशबाट संशोधन गरिएको बताए ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ संसद्मा पेस गरे ।
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण् मन्त्री बलराम अधिकारीले ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ सदनमा पेस गरे ।