नेपाल भेटेरिनरी एसोसिएसनको आयोजनामा चौथो संस्करणको राइट टु प्रोटिन रन हाफ म्याराथन प्रतियोगिता यहि माघ १२ गने काठमाडौंमा आयोजना हुने भएको छ ।
एसोसिएसनले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै माघ १२ गते काठमाडौंको दशरथ रंगशालाबाट सुरु भइ बिभिन्न स्थान हुँदै सोहि स्थानमा पुगेर हाफ म्याराथन प्रतियोगिता समापन हुने जनाएको हो । उक्त दौड प्रतियोगितामा ८ हजार जनाले भाग लिने हाफ म्याराथन संयोजक डा शीतलकाजी श्रेष्ठले जानकारी दिए।
संयोजक श्रेष्ठका अनुसार प्रतियोगितामा खुला हाफ म्याराथन, पुरुष १० किमी, महिला ५ किमी, १२ कक्षासम्मका विद्यार्थीलाई ५ किमी (पुरुष) र ३ किमी (महिला), फरक क्षमता भएका व्यक्तिहरुका लागि ह्विलचेयर र बालबालिकाका लागि रन फर फन दौड समावेश गरिएको छ ।
प्रतियोगिताअन्तर्गत हाफ म्याराथनको उपाधि जित्ने महिला तथा पुरुष खेलाडीले जनही एकलाख पचास हजार रुपैया प्राप्त गर्ने संयोजक श्रेष्ठले जानकारी दिए । दोस्रो, तेस्रो, चौथो र पाँचौँ हुने महिला तथा पुरुष खेलाडीले क्रमशः १ लाख, ७० हजार, ५० हजार र ३० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । पुरुष १० किमी दौडमा प्रथम स्थान हासिल गर्ने खेलाडीले ५० हजार रुपैयाँ पाउनेछन् भने दोस्रो हुने खेलाडीले ४० हजार रुपैयाँ पाउनेछन् ।
त्यस्तै अन्य विधामा प्रथमदेखि पाँचौ स्थान हासिल गर्ने खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रोटिनजन्य पदार्थमा पहुँच बढाउनका लागि जनचेतना फैलाउने उदेश्यका साथ एसोसिएसनले हरेक बर्ष हाफ म्याराथन प्रतियोगिता आयोजना गर्दै आएको छ ।