पहिलो संस्करणको झापा कपको उपाधि चर्च ब्वाइज युनाइटेडले हात पारेको छ।
उपाधि जितेसँगै चर्च ब्वाइजले नगद रु १० लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता एनआरटी क्लबले पाँच लाख प्राप्त गरेको छ । झापा–११ द्वारा विर्तामोडस्थित डोमालाल रङ्गशालामा आज भएको फाइनल खेलमा चर्च ब्वाइजले एनआरटीलाई ३–१ गोलअन्तरले पराजित गरेको हो ।
बिर्तामोडको डोमालाल राजबंशी रंगशालामा सोमबार भएको खेलमा एनआरटी क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज युनाइटेडले हात पारेको हो । खेलको २१ औं मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । चर्च ब्वाइजका समिर तामाङले एनआरटीका डिफेण्डरको मिसपासलाई सदुपयोग गर्दै गोल गर्न सफल भए ।
४३ औं मिनेटमा चर्च ब्वाइजले अग्रता दोब्बर बनायो । रोहन कार्कीले डि बक्समा मिलाइदिएको पासलाई डि बक्समा अनमार्क रहेका बिदेशी खेलाडी अर्माण्डले गोल गरे ।त्यसको लगत्तै एनआरटीले १ गोल फर्कायो । बिदेशी खेलाडी कार्लोसले दिएको क्रस पासमा कप्तानसमेत रहेका अञ्जन बिष्टले गोल गरेका थिए । खेलको अतिरिक्त समयमा समिर तामाङको पासमा अर्माण्डले गोल गर्दै चर्च ब्वाइजको जित सुनिश्चित पारे ।
प्रतियोगीताको प्लेयर अफ द म्याच बिजेता टिम चर्च ब्वाइजका समिर तामाङ भए । उनले नगद १० हजार रुपैंयाँ पुरस्कार पाए । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक चर्च ब्वाइजका क्रिशल मोक्तान, सर्वाधिक गोलकर्ता एनआरटीका अञ्जन विष्ट, झापा ट्यालेन्टका रुपमा छनोट भएका झापा–११ का प्रदिप बुढाथोकीले जनही रु ३५ हजार नगद प्राप्त गरेका छन् । ‘मस्ट भ्यालुएबल प्लेयर’ चर्च ब्वाइजका रोहन कार्की भए । उनले नगद रु एक लाख प्राप्त गरे ।
यसैबीच, झापा ११ एफसीका व्यवस्थापक गोपाल राईलाई क्लबले नगद रु २५ हजारसहित लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको थियो ।
गतवर्ष झापा गोल्डकपको छैटौँ संस्करण पनि चर्च ब्वाइजले नै जितेको थियो ।