आइतबार सम्पन्न स्थानीयतह उपनिर्वाचन, २०८१ को थप नतिजा आउनेक्रम जारी छ । काठमाडौँ, काठमाडौँ महानगरपालिका वडानम्बर १६ को वडाध्यक्ष पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रोजिना श्रेष्ठले दुई हजार नौ सय दुई विजयी भइन ।उनका निकटतम प्रतिस्पधी नेकपा (एमाले)का उम्मेदवार लक्ष्मीरत्न महर्जनले दुई हजार दुई सय २० मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।कांग्रेसबाट विजयी तत्कालीन वडाध्यक्षमुकुन्द रिजालको निधन भएपछि उपनिर्वाचन भएको हो ।
कीर्तिपुर, कीर्तिपुर नगरपालिका–१को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका इच्छाकुमार महर्जनले पाँच सय ६२ मत प्राप्त गरेर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का हर्ष महर्जनले चार सय ९८ गरेका थिए ।
ताप्लेजुङ, ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–३ सिकैचाको वडाध्यक्ष पदमा नेकपा (एमाले)का कुमारी साउदेनले तीन सय ५३ मत प्राप्त गरेर विजयी भइन । उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का अम्बी साउदेनले दुई सय ५१ मत प्राप्त गरे। यसअघि २०७९ सालको निर्वाचनमा यस वडामा नेपाली कांग्रेसको उम्मेदवारले विजयी भएका थिए ।
मकवानपुर, हेटौँडा उपमहानगरपालिका–१२ को वडाध्यक्षपदमा नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद तिवारी दुई हजार ६३ मत प्राप्त गरेर विजयी भएका छन । उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र ) का रविनकुमार प्रधानले एक हजार पाँच सय ६० मत प्राप्त गरेका छन । यसअघिको स्थानीय निर्वाचनमा सो वडामा माओवादीका उम्मेदवार निर्वाचित भएका थिए।
महोत्तरी , यहाँको रामगोपालपुर नगरपालिका–२ को वडाध्यक्षपदमा नेकपा (एमाले)का सकिबुल खाँले छ सय ३१ मत प्राप्त गरेर निर्वाचित भएका छन । उनको निकटतम् प्रतिष्पर्धी नेकपा (माओवादी केन्द्र)की आइतीकुमारी यादवले पाँच सय ३४ मत प्राप्त गरिन।
रौतहट, राजपुर नगरपालिका ६ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार समसे आलमले सात सय ४४ मत प्राप्त गरेर निर्वाचित भए। उनको प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का जिकरुल्लाहले चार सय ६३ मत प्राप्त गरेका छन।