मार्ग शीर्ष कृष्ण चतुर्दशीका अवसरमा शनिबार पशुपति क्षेत्रमा शतबीज छरिँएको छ ।पशुपतिनाथको मूल मन्दिर, वाग्मती, भष्मेश्वर महादेव, आर्यघाट, रुद्रगाडेश्वर, भागलभुगल महादेव, किरातेश्वर, गौरीघाट, गुह्येश्वरी, नमोबुद्ध, बहिरो गणेश, विश्वरुप, मृगस्थली हुँदै भागलभुगल महादेव नजिकै पुगेर भक्तजनले शतबीज छरेका हुन् ।
रातभर बत्ती बालेर बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान भने दिवंगत पितृको सद्गतिको कामना गर्दै शतबीज छर्ने परम्परा छ । यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा भक्तजनको घुईचो लागेको थियो ।
प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिमा आउँछन् । आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै पशुपति क्षेत्र मा शतबीज छर्ने गरिन्छ ।
देशभरका शिवालयहरुमा मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै परिवारले शतबीज छर्ने गर्दछन।