निर्वाचन आयोगले प्रचार प्रसार निषेध अवधि(मौन अवधि ) र मतदानको दिन गर्नुपर्ने कार्यका सम्बन्धमा निर्वाचन आचारसंहिता जारी गरेको छ।
निर्वाचन आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा निर्वाचन आयोगको मिति २०८१/०८/१३ गतेको बैठकबाट संवत् २०८१ साल मंसिर १६ गते आइतबारका दिन सम्पन्न हुने स्थानीय तहको उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि व्यवस्था मिलाउन निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा २४ को उपदफा ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम मतदान हुने दिन २०८१ मंसिर १६ गतेको अघिल्लो ४८ घण्टा अर्थात् २०८१ मंसिर १३ गते राती १२:०० बजेपश्चात् मतदान केन्द्रमा मतदान कार्य नसकिँदासम्म निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ र १८ बमोजिम निषेध गरिएका कार्यहरू हुन नदिने। उपनिर्वाचन हुने स्थानीय तहमा अनधिकृत एवम् शंकास्पद व्यक्तिको प्रवेश र तिनका गतिविधिमा उच्च निगरानी राख्ने, सूक्ष्म ढङ्गले अनुगमन गर्ने र निर्वाचनको स्वच्छता, निष्पक्षता, स्वतन्त्रता र विश्वसनियतामा आँच आउने कुने कार्य वा अवाञ्छित गतिविधि भएको वा हुन सक्ने शङ्का लागेमा वा कुनै सूचना प्राप्त भएमा मतदान केन्द्र तथा निर्वाचनको सुरक्षामा खटिएका सुरक्षाकर्मीले थप आदेश लिनु नपर्ने गरी नियन्त्रणमा लिई प्रचलित कानून बमोजिम तत्काल कारवाही गर्न नेपाल सरकार गृह मन्त्रालय मार्फत निर्देशन दिइएको छ।
त्यसैगरी उपनिर्वाचनको मतदान हुने दिन मिति २०८१/०८/१६ गते निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को परिच्छेद २ को दफा ४ बमोजिम निर्वाचन सम्बन्धी सामग्रीको प्रयोगमा बाधा पुर्याउन नहुने, दफा ५ बमोजिम मतपत्रको दुरूपयोग गर्न नहुने, दफा ६ बमोजिम गैरकानुनी तवरले मतपत्र दिन वा लिन नहुने, परिच्छेद ३ को दफा ७ बमोजिम मतदानको अधिकार बिना मतदान गर्न नहुने, दफा ८ बमोजिम पटक पटक मतदान गर्न नहुने, दफा ९ बमोजिम मत सङ्केत सार्वजनिक गर्न नहुने, दफा १० बमोजिम मतदानको प्रक्रिया उल्लंघन गर्न नहुने, दफा ११ बमोजिम मतपत्र बाहेक अन्य वस्तु खसाल्न वा राख्न नहुने, दफा १२ बमोजिम मतदान भएको मतपत्र विगार्न वा नष्ट गर्न नहुने, दफा १३ बमोजिम मतदान गर्न बाधा गर्न नहुने लगायतका व्यवस्थाका प्रतिकुल हुने गरी कुनैपनि कार्य हुन नदिन र कहीँ कतैबाट भए गरेमा थप आदेश लिनु नपर्ने गरी प्रचलित कानुन बमोजिम तत्काल कारवाही गर्ने र सोको जानकारी गराउन निर्देशन दिइएको छ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्नका लागि निर्वाचनका क्रियाकलापहरूमा परिचालन हुने कर्मचारी र सुरक्षाकर्मीहरूबाट सम्पूर्ण उम्मेदवारहरू र राजनीतिक दलहरूप्रति समान व्यवहार गरी निर्वाचन सम्बन्धी कार्यसम्पादनमा समान अवसर प्रदान गर्न सम्बन्धित निकायहरूले आवश्यक सतर्कता अपनाई निर्वाचन सम्पन्न गर्न गराउन निर्देशन दिइएको छ ।