प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजामा ७० प्रतिशत विद्यार्थी उत्तिर्ण हुने गरि शिक्षा क्षेत्रको सुधार गर्ने बताएका छन् ।
काठमाडौंमा राष्ट्रिय शिक्षा दिवस, २०८१ मूल समारोह समितिको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अनलाइन कक्षाबाट विद्यार्थीलाई मुख्य विषयहरु पढाएर एसइईको नतिजामा उल्लेख्य सुधार गर्न थालिएको भन्दै आगामी बर्षको एसइईको नजितामा त्यसको सकारात्मक असर देखिने बताए। हाल कायम रहेको शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको प्रधानमन्त्री ओलीले शिक्षा, ज्ञान, तप, योग, सभ्यता, संस्कृति रहेको यस भूमिको शिक्षा अब पछाडि परिरहन नसक्ने बताए । उनले विश्वमा प्रतिस्पर्धा गर्न सक्ने सक्षम नागरिक उत्पादन गर्न शिक्षाकर्मीलाई आग्रह गरेका छन् ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले उच्चशिक्षा, विद्यालय तह र सामाजिक क्षेत्रमा उत्कृष्टता हासिल गर्ने क्याम्पस, विद्यालय र संस्थालाई पुरस्कार वितरण गरे । ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता: साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने आदर्श वाक्यका साथ बुधबार राष्ट्रिय शिक्षा दिवस मनाइएको हो ।
प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ जारी भएको दिनलाई आधारमा मानेर पछिल्ला वर्षमा असोज २ गतेलाई शिक्षा दिवस मनाउन थालिएको हो ।