चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा हुक एन्ड ड्रप प्रणाली लागू गर्ने तयारी गरिएको छ । चीनबाट रसुवागढी नाका हुँदै नेपाल आयात हुने सामग्रीको आयात बढाउन नाकामा हुक एन्ड ड्रप प्रणाली लागू गर्ने तयारी गरिएको हो । यस्तो मोडल अहिले तातोपानी नाकामा कार्यान्वयनमा रहेको छ । रसुवागढी नाकामा हुक एन्ड ड्रप प्रणाली लागू गर्न चिनियाँ पक्षले अध्ययन गर्ने जानकारी गराएको छ ।
रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख रामप्रसाद रेग्मीका अनुसार गएको बिहीबार वाणिज्य दूत नवराज ढकालले तिब्बत वाणिज्य विभागका उपमहानिर्देशक वाङ पिङ, तिब्बत परराष्ट्र कार्यलय, ल्हासा भन्सार कार्यालय, पोर्ट एड्मिनिस्ट्रेसन विभागका निर्देशक लगायतसँग तिब्बत वाणिज्य विभागमा नेपालमा सामान आयातलाई बढाउनेबारे छलफल गरेका थिए । सोही क्रममा चिनियाँ पक्षले अध्ययन गर्ने जानकारी गराएको हो ।
छलफलमा तातोपानी मोडलमा रसुवागढी नाकाबाट पनि हुक एण्ड ड्रप मोडल सञ्चालन गर्न नेपाली पक्षले प्रस्ताव राखेको थियो । नेपाली पक्षले रसुवागढी नाकाबाट हुक एण्ड ड्रपमार्फत सामग्रीको आयात बढाउन चिनियाँ पक्षलाई लामो समयदेखि प्रस्ताव गर्दै आएको छ । नेपाली पक्षको पटक-पटकको प्रस्तावसहितको अनुरोधमा चिनियाँ पक्ष हुक एण्ड ड्रप प्रणाली लागू गर्न तयार देखिएको हो । रेग्मीका अनुसार मितेरी पुलसम्म हुक एण्ड ड्रप प्रणाली सञ्चालन गर्न नेपालतर्फको अवस्था के छ भनेर स्थलगत अध्ययन गर्न चिनियाँ पक्षले चासो देखाएको छ । यस्तो अध्ययन छिट्टै हुनेसमेत भन्सार प्रमुख रेग्मीले जानकारी गराए ।
यो मोडल लागू भए नजिकिएको चाडपर्वमा वस्तु आयात सहज हुने अपेक्षा नेपालको छ । चीनबाट सामान बोकेर आएका चिनियाँ गाडीले सिमानासम्म आएर सामान छोडिदिन्छ । नेपालबाट इन्जिन मात्र लगेर कन्टेनरलाई तानेर नेपालतर्फको यार्डमा ल्याउँछन् । त्यसपछि सो कन्टेनरलाई अनलोड गरी सीमापार लगेर छाडिदिन्छन् । यस प्रणालीअनुसार जति धेरै कन्टेनर नेपालतर्फ तान्न सक्यो त्यति नै बढी सामान भित्रिन्छ । तातोपानी नाकामा यो मोडल सुरु भएसँगै रसुवागढी नाकाबाट पनि यही मोडल सञ्चालन गर्न नेपाली पक्षले चिनियाँ पक्षसँग प्रस्ताव गर्दै आएको छ ।
यस कार्यको लागि सिल्क ट्रान्सपोट अघि सरेको छ । हुक एण्ड ड्रप मार्फत सामाग्री भन्सार यार्डसम्म सहजै पुर्याउन सिल्क ट्रान्सपोर्ट कम्पनीले टेलर समेत ल्याइसकेको छ । १३ वटा टेलर हेड तयारी अवस्थामा रहेको सिल्क ट्रान्सपोर्ट कम्पनीका संचालक सोनाम वाङ्दी तामाङले बताए । उनका अनुसार कम्पनीसँग ४० वटा यस्ता टेलर छन् । तत्कालका लागि नाकामा १३ वटा तयारी अवस्थामा राखेको उनले जानकारी दिए । तातोपानी नाकामा पनि त्यसै कम्पनीले काम गरिरहेको छ ।
कोरोना सङ्क्रमण सुरु भए यता चीनले कोटा प्रणालीमा सामान ल्याइरहेको छ । चीनले आफनै गाडीमा नेपाल तर्फको भूभागमा सामान ल्याइदिने गरेको छ । अहिले रसुवागढी नाकाबाट चिनियाँ ९ वटा कन्टेनरमा सामान आयात भइरहेको छ । चिनियाँ एउटा गाडीमा आएको सामग्री नेपाली दुईवटा कन्टेनरमा नेपाली कामदारले लोड गर्ने गरेका छन् । चिनियाँ गाडीमा आएको सामग्री नेपाली गाडीमा लोड अनलोड गर्न स्वास्थ्यका मापदण्ड पालना गर्दै नेपाली कामदार नाकामा खटिएका छन् ।
दसैँ र तिहार पर्वलक्षित भई आएका मालवस्तुहरूलाई समयमै नेपाल निकासी गर्न तातोपानी–झाङ्मु नाकाबाट हालको संख्यलाई दोब्बर गरी दैनिक २० ट्रक मालसामान नेपाल पठाउन चिनियाँ पक्ष तयार रहेको बताइएको छ । रसुवागढी-केरुङ नाकाबाट चिनियाँ गाडीमा दैनिक नाै ट्रक सामान नेपालतर्फ आइरहेकोमा यो संख्यालाइ २० पुर्याउन चिनियाँ पक्ष तत्पर देखिएको छ । तर यसका लागि रसुवागढीमा लोड अनलोड गर्न पर्याप्त स्थान र जनशक्ति नभएको बताउँदै यी विषयलाई सम्बोधन गरेको अवस्थामा संख्या बढाउन सक्ने चिनियाँ पक्षको भनाइ रहेको छ ।
नेपालले खरिद गरेको रासायनिक मल सहज रूपमा नेपाल पठाउन विशेष व्यवस्था गर्ने र नेपाली पक्षले गरेको अनुरोधलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत चीनले गरेको छ ।