भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी हिन्दु नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउदै छन् ।
यसदिन महिलाले बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन्।दतिवनले दाँत माझेर महिलाले अरुणन्धतिसहित सप्तऋषि कश्यप, अत्रि, भारद्वाज, वशिष्ठ, जमदग्नि, गौतम र विश्वामित्रको पूजा गर्ने प्रचलन छ ।सप्तर्षिको पूजा गर्नाले मनोकाङ्क्षा पूरा भएर पारिवारिक सुख, शान्ति तथा पुण्य सञ्चय हुने जनविश्वास छ ।
रजस्वला भइसकेका नारीहरुले भविष्य पुराणका अनुसार (इन्द्रको ब्रमहत्याको पाप एक भाग नारीलाई बाँडिएकाेले) ब्रह्म हत्याको पापमुक्ति तथा रजस्वला भएका अवस्थामा जानी नजानी भए गरेका पापजन्य कार्यबाट मुक्ति मिलोस भन्नाका लागि सप्तऋषिको पूजा गर्ने प्रचलन रहेको कथन छ ।
ऋषिपञ्चमीका अवसरमा काठमाडौँको टेकुस्थित ऋषेश्वर मन्दिरमा सप्तऋषिको दर्शन तथा ऋषिपञ्चमी मेला भर्न आएका महिला भक्तजनहरुले ऋषेश्वरको दर्शन तथा पूजा आराधना गरेका छन् ।
मन्दिरमा प्रत्येक वर्ष ऋषिपञ्चमीका अवसरमा विशेष मेला सहित दशनार्थी महिलाहरूको भीड लाग्ने गर्दछन् ।