सूचना प्रविधिको तीव्र विकाससँगै नेपालले साइबर सुरक्षामा ठूलो चुनौतीको सामना गरिरहेको छ । देशको आर्थिक, सामाजिक, र राजनीतिक स्थायित्वका लागि डिजिटल संरचनाको सुरक्षा अपरिहार्य संयन्त्र हो । हालको अवस्थामा नेपाललाई राष्ट्रिय सुरक्षामा योगदान पुर्याउँने एक प्रभावकारी साइबर सेना (Cyber Troop) को आवश्यकता छ । तर, दुःखको कुरा, नेपालमा हाल "साइबर सेना" को नाममा चलिरहेका गतिविधिहरूले भने देशलाई कुनै लाभ नपुर्याइ राजनीतिक रूपमा झनै विभाजित र कमजोर बनाइरहेको छ ।
राजनीतिक दलहरूको साइबर सेना: एक अफवाहको चक्रव्यूह
नेपालमा हाल विभिन्न राजनीतिक दलहरूले सञ्चालन गरेका साइबर सेनाहरूले सामाजिक सञ्जालमा एक प्रकारको सूचना युद्ध छेडेका छन् । मिडिया हाउसहरुसँगको अन्तर्वार्तामा नेताहरुले, यी सेनाहरूको उद्देश्य "आफ्नो पार्टीको सैद्धान्तिक आन्दोलनलाई बचाउने" वा "जनतामा पुगेको भ्रम रोक्ने" भनिए पनि वास्तवमा यी सेनाहरू सामाजिक सञ्जालको प्रयोग गरि अफवाह फैलाउने, विरोधी पार्टीलाई बदनाम गर्ने, र राजनीतिक माहोललाई अशान्त बनाउने काममा मात्र केन्द्रित देखिन्छन् ।
यो प्रवृत्तिले नेपालको राजनीतिक वातावरणलाई अझ बढी विषाक्त बनाएको छ । राजनीतिक दलहरूले साइबर सेनालाई आफ्नो राजनीतिक स्वार्थका लागि प्रयोग गर्दा जनता बीचको द्वेष, द्वन्द्व, र अविश्वासलाई प्रोत्साहन मिलेको छ । यी सेनाहरूको कार्यशैलीलाई हेर्दा यी सेनाले सूचना प्रविधिको साधनलाई जनताको समस्याहरू सुल्झाउनेभन्दा पनि राजनीतिक झगडा मच्चाउने माध्यमको रूपमा प्रयोग गरिरहेको देखिन्छ ।
संगठनात्मक समस्याहरू: आइटी सेल र साइबर सेना
आईटी सेलको अवधारणालाई भारतमा भाजपा लगायत अन्य दलहरूले सफलतापूर्वक प्रयोग गरेका छन्, जहाँ सयौं देखि हजारौं व्यक्तिहरू संलग्न भएर आफ्नो पार्टीको पक्षमा सकारात्मक खबरहरूको प्रचारप्रसार गर्दर्छन् । नेपालको सन्दर्भमा पनि आइटी सेल र साइबर सेनाको संगठनात्मक संरचना भने त्यसतै देखिन्छ । तर नेपालमा राजनीतिक दलहरूले साइबर सेनामार्फत आफ्ना गैह्रकानूनी गतिविधिको कसैले विरोध गरे सामाजिक सञ्जालमा त्यसको विरुद्ध बढी मात्रामा आवाज उठाएर भ्रम फैलाउने, आफ्ना उपलब्धिहरूलाई बढाइचढाइ गर्ने, र विपक्षीलाई तल्लो स्तरमा झार्ने काम गरिरहेका छन् । राजनीतिक दलहरूका यी क्रियाकलापहरुले देश र कानूनप्रति जिम्मेवारी र देशको हित ग्रहण गर्दैनन् । राजनीतिक दलहरूले खेलाँचीमा आफ्ना गतिविधिलाई 'साइबर सेना' को नाममा चलेको मञ्च बनाएर स्वार्थी काम गर्ने बानीले देशको साइबर सुरक्षा संरचना निर्माणमा गम्भीर अवरोध खडा गरिरहेको छ ।
देशले चाहेको साइबर सेना: एक राष्ट्रिय आवश्यकता
नेपालले चाहेको साइबर सेना भनेको दलको नभइ देशको राष्ट्रिय साइबर सुरक्षा रणनीतिको परिपालन गर्दै देशका डिजिटल पूर्वाधारको सुरक्षा गर्ने साइबर सेना हो । सरकारद्वारा राजनीतिक रूपमा प्रेरित नभएर राष्ट्रिय सुरक्षालाई प्राथमिकता दिने साइबर सेना सञ्चालनमा ल्याउनसके साइबर सेनाले देशको साइबर सुरक्षालाई बलियो बनाउन सक्नेछ । देशले चाहेको साइबर सेनाको परिकल्पना निम्न कुराहरूमा ध्यान दिएर गर्न सकिन्छ :-
- साइबर सुरक्षा विशेषज्ञहरूको प्रशिक्षण र तैनाथी: सुरक्षा निकायहरुमा योग्य र सक्षम साइबर सुरक्षा विज्ञहरूको कमीलाई पूरा गर्नका लागि नयाँ प्रशिक्षार्थीलाई नियमित तालिम, कार्यशालाहरू, र सिकाइका अवसरहरू प्रदान गरेर ।
- सुरक्षा अडिट र प्रतिक्रिया: साइबर आक्रमणका घटनाहरूमा तुरुन्तै प्रतिक्रिया दिने, सुरक्षा अडिट गर्ने, र जोखिम न्यूनीकरण रणनीति अपनाएर ।
- राष्ट्रिय र अन्तर्राष्ट्रिय सहकार्य: अन्य राष्ट्रिय र अन्तर्राष्ट्रिय साइबर सुरक्षा संस्थाहरूसँग समन्वय गर्दै खुफिया जानकारी र राम्रो अभ्यासको आदानप्रदान गरेर ।
देशको वास्तविकता र भविष्यको परिप्रेक्ष्य: राजनीतिक स्वार्थको बिरुद्धमा राष्ट्रिय हित
नेपालमा हाल राजनीतिक दलहरूले सञ्चालन गरेका साइबर सेनाहरूले जनताको विश्वास र राष्ट्रिय सुरक्षामा आघात पुर्याएका छन् । राजनीतिक स्वार्थको लागि साइबर सेनाको प्रयोगले साइबर सुरक्षाको वास्तविक आवश्यकतालाई ओझेलमा पारेको छ । वास्तवमा नेपाललाई अहिले 'साइबर सेना' को नाममा राजनीतिक फुट र मनोवैज्ञानिक आक्रमणको चक्रव्यूह होइन, राष्ट्रिय हितको लागि सशक्त र व्यावसायिक साइबर सेनाको आवश्यकता छ ।
निष्कर्ष: देशको माग र प्राप्तिको विरोधाभास
देशले चाहेको साइबर सेना भनेको राष्ट्रको साइबर सुरक्षा बलियो बनाउने, जनताको गोपनीयता र व्यक्तिगत सुरक्षामा योगदान पुर्याउने, र साइबर आक्रमणहरूको जोखिमबाट जोगाउने यस्तो संरचना हो, जसले देशको डिजिटल भविष्यलाई सुरक्षित बनाओस् । तर दुर्भाग्यवश, नेपालले हाल "साइबर सेना" को नाममा पाएको भनेको राजनीतिक स्वार्थका लागि प्रयोग भइरहेका सेना जसले राष्ट्रिय एकता, साइबर सुरक्षा, र लोकतान्त्रिक मूल्यहरूलाई कमजोर बनाइरहेका छन् ।
यसकारण सरकारले साइबर सेनाको सही अवधारणालाई स्थापित गर्दै, राष्ट्रिय सुरक्षालाई प्राथमिकता दिने, र साइबर हमलाहरूबाट देशलाई जोगाउने रणनीतिक संरचनाको निर्माणमा जोड दिने समय आएको छ । यस संरचनाको निर्माणपछि मात्रै देशले चाहेको वास्तविक साइबर सेना प्राप्त गर्नेछ र यसैले नेपाललाई डिजिटल युगमा सुरक्षित र स्थिर राख्न योगदान पुर्याउनेछ ।