थनेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) स्थापना भएको ३ वर्ष मात्रै भएको र पार्टी गठनपछि पहिलो महाधिवेशन गर्न लागेको भएपनि यसलाई १०औँ राष्ट्रिय महाधिवेशन भनिएको छ । महाधिवेशन यही असार १६ देखि २० गतेसम्म काठमाडौँको प्रज्ञा भवन कमलादीमा हुने पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । एमालेसँग रहँदाका महाधिवेशनहरूलाई समेत जोडेर एसले पहिलो महाधिवेशनलाई दसौँ भनेको हो । एमालेबाट फुटाएर माधव नेपालको अध्यक्षतामा यो पार्टी गठन गरिएको थियो ।
महाधिवेशनमा पार्टी अध्यक्ष लगायत नेतृत्व चयन गर्ने कार्यक्रम छ । नेपाल आफैँ अध्यक्ष बन्न चाहन्छन् । केपी ओलीको नेतृत्व नरुचाएको र आफैँलाई नेतृत्व चाहिएकोले उनले पार्टी फोरेर नयाँ गठन गरेको हुादा उनी अध्यक्षका दावेदार हुँदैहुन् । साथै सर्वमान्य नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले पनि आकांक्षा राखेको बताइन्छ । खनाल खुलेर नदेखिएपनि भुसाल खुलेका छन् र गंगालाल तुलाधर लगायतले भुसालको तीव्र आलोचना गरिरहेका छन् । एमाले फोर्ने बेलामा भुसाल समेत १० भाइले समयमा निर्णय नगर्दा एसले निर्वाचनमा राष्ट्रिय पार्टी हुनबाट चुकेको हुँदा भुसाललाई नै अध्यक्ष बनाउनु हास्यास्पद हुने भनी तुलाधरले नेपालको पक्षमा अन्तर्वार्ता दिइरहेका छन् । नेपालको पक्षमा देखिएको लहरले उनी निर्वाचित अध्यक्ष हुने पक्का रहेको देखिन्छ ।
साथै सर्वसम्मत अध्यक्ष चयन गर्न शीर्ष नेताहरूबीच छलफल प्रारम्भ भएको समाचार बाहिर ल्याइएको छ । नेतृत्वपङ्ति सर्वसम्मत रूपमा अध्यक्ष चयन गर्ने प्रयासमा छ । राजनीतिक प्रतिवेदन, पार्टीको समाजवादी कार्यक्रम, विधान संशोधन र साङ्गठनिक प्रतिवेदनलाई एउटै साझा दस्तावेज बनाएर महाधिवेशनमा लैजाने समझदारी भएपछि पार्टी केन्द्रीय नेतृत्वमा पनि निर्विरोध उम्मेदवारको खोजी गरिएको बताइन्छ ।
पार्टीको आन्तरिक एकता बलियो बनाउन, वैचारिक तथा सैद्धान्तिक कार्यदिशाका हिसाबले पार्टीको नेतृत्व साथै देश र जनताको हितमा काम गर्न सक्ने स्वच्छ छवि भएको नेतालाई नेतृत्वमा लैजानुपर्ने पार्टीका सातै प्रदेशका अध्यक्षले सुझाव दिनुभएको छ । सम्मानित नेता झलनाथ खनालले सबै प्रदेश अध्यक्षसँग गरेको छलफलमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग विभाजित हुनुको औचित्य पुष्टि गर्नसक्नुपर्ने सुझाएका छन् ।
कोशीबाट बलदेव चौधरी, गण्डकीका श्रीनाथ बराल, बागमतीका सावित्रा भुसाल, मधेस प्रदेशका रामचन्द्र यादव, लुम्बिनीका सोमप्रसाद पाण्डे, कर्णालीका अम्बर थापा र सुदूरपश्चिमका हर्कबहादुर सिंह छलफलमा सहभागी थिए । पार्टीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालबीच समझदारीका साथ सर्वसम्मत नेतृत्व चयनका लागि पुस्तान्तरणका विषयमा पनि छलफल गरिएको स्थायी समिति सदस्य आलोक रायमाझीले दावी गरेका छन् ।