नेपाली र भारतीय नशा रोग विशेषज्ञ चिकित्सकहरूले लेखेको केश बेस्ड एप्रोज टु कमन न्युरोलोजिकल डिसअडर्स (Case–based Approach to Common Neurological Disorders) पुस्तक अन्तर्राष्ट्रिय प्रकाशन स्प्रिङगरको रोजाइमा परेको छ ।
पहिलो पटक स्प्रिङ्गरले यस्तो किसिमको पुस्तक प्रकाशन गरेको हो । यस पुस्तकमा कुनै पनि बिरामी चिकित्सककहाँ आउँदा प्रथम चरणमै कसरी छिटोछरितो रोगको लक्षणअनुसार पहिचान गरी त्यसको कारक तत्व पत्ता लगाउने र सहज, सरल तरिकाबाट रोगको निदान, रोकथाम गर्न सकिन्छ भन्ने विषयबस्तुहरु यस पुस्तकमा समेटिएको छ ।
नशा रोग जस्तै पक्षाघात, बिर्सने रोग, छारे रोग, शरीर हल्लिने रोग, मष्तिष्काघात, आँखाको पक्षघातजस्ता घातक रोगहरूको पहिचान गर्न नै लामो प्रक्रिया लाग्ने र उपचार पनि निकै नै खर्चिलो भएका कारण यस पुस्तकले चिकित्सकहरुलाई रोगको पहिचान र निदान गर्न सहज वातावरण सिर्जना गर्ने विश्वास गरिएको छ । समयमै रोगको पहिचान हुने भएपछि सर्वसाधारणहरूको उपचारमा पनि कम खर्च लाग्नेछ ।
आधुनिकतामा बद्लिँदो समय र परिस्थितिसँगै चिकित्सा क्षेत्रले पनि फड्को मारिरहेको छ । यसै क्रममा नशा रोगको क्षेत्रमा कसरी स्मार्ट तरिकाले बेलैमा रोगको पहिचान गर्ने र छिटोछरितो उपचार गर्न सकिन्छ भन्ने आजको आश्यकता हो र आजसम्म यस्तो किसिमको पुस्तक प्रकाशन नभएकाले यो पुस्तक महत्व बढी भएको पुस्तकका सम्पादक प्रा. डा. कृष्ण कुमार ओलीले जानकारी गराउनुभएको छ ।
अन्तर्राष्ट्रिय प्रकाशन स्प्रिङगरले प्रकाशित गरेको (केश बेस्ड एप्रोज टु कमन न्युरोलोजिकल डिसअडर्स) विश्व बजारमा उपलब्ध छ । यस पुस्तकले चिकित्सकहरूलाई तत्कालै रोगको पहिचान र उपचार गर्न, अनुसन्धानकर्ताहरूलाई अनुसन्धान गर्न, एमबीबीएस, एमडी इन्टर्नल मेडिसिन, एमडी जीपी, न्युरो क्रिटिकल केयर इन्टेन्जिभिस्ट, डीएम, पीएचडी न्युरोलोजी पढ्दै गरेका विद्यार्थीलगायत सम्पूर्ण तहका लागि यो पुस्तक लाभदायी हुने पुस्तकका सम्पादकद्वय डा. जेन्टल सुन्दर श्रेष्ठ, र डा. राजीव ओझाले जानकारी गराउनुभएको छ ।
केश बेस्ड एप्रोज टु कमन न्युरोलोजिकल डिसअडर्स पुस्तकमा विषयबस्तुलाई सात भागमा विभाजन गरिएको छ । यस पुस्तकलाई मुख्य गरी प्रोफेसर डा. कृष्णकुमार ओली, डा. जेन्टल सुन्दर श्रेष्ठ, डा. राजीव ओझा, प्रोफेसर डा. प्रमोद कुमार पाल, डा. सञ्जय पाण्डे, डा. विभुकल्याणी दास गरी छ जनाले सम्पादन गर्नुभएको छ । यसका साथै पुस्तक प्रकाशित हुनमा नेपाल र भारतका विभिन्न चिकित्सा क्षेत्रका इन्स्टिच्युटहरू र नशा रोग विशेषज्ञ चिकित्सकहरूको महत्वपूर्ण भूमिका रहेको छ ।
लेखक, अनुसन्धानकर्ता र सम्पादकहरूको झन्डै सात वर्षको अथक प्रयासपश्चात केश बेस्ड एप्रोज टु कमन न्युरोलोजिकल डिसअडर्स पुस्तक विश्व बजारमा आएको हो । यो पुस्तकले न्युरोसाइन्समा नयाँ आयाम थप्ने कुरामा विश्वास गरिएको छ ।
पुस्तक: केश बेस्ड एप्रोज टु कमन न्युरोलोजिकल डिसअडर्स
प्रकाशक: स्पिङ्गर
प्रकाशन मिति: सन् २०२४
मूल्य: अनुल्लेखित
लेखक/सम्पादक: डा. कृष्णकुमार ओली, डा. जेन्टल सुन्दर श्रेष्ठ, डा. राजीव ओझा, प्रोफेसर डा. प्रमोद कुमार पाल, डा. सञ्जय पाण्डे, डा. विभुकल्याणी दास