उपराष्ट्रपति रामसहाय प्रसाद यादवले मस्तिष्काघात सामान्यतया ५५ वर्ष उमेरभन्दा माथिकालाई हुने भए पनि नेपालमा यो समस्या युवा उमेरमै देखिनु चिन्ताको विषय भएको बताएका छन् ।
‘नेप्लिज एकेडेमी अफ न्यूरोलोजी’ को प्रथम अन्तरर्राष्ट्रिय सम्मेलनलाई काठमाडौंमा सम्बोधन गर्दै उनले उक्त चिन्ता व्यक्त गरेका हुन् । ‘हाम्रो देशमा ४५ वर्ष मुनिका धेरै युवा मस्तिष्कघातबाट पीडित हुनु चिन्ताको विषय हो ’ उनले भने, ‘यो डरलाग्दो अवस्थालाई न्यूनीकरण गर्न अति आवश्यक छ।’
उपराष्ट्रपति यादवले रोगहरु बढ्नुको मुख्य कारण मानिसको अव्यवस्थित जीवनशैली भएको बताए । ‘आरामदायी जीवनशैली, धुम्रपान, मदिरा सेवन, उच्च रक्तचाप, मधुमेह र कोलेस्ट्रोलका कारण धेरैको अकालमै मृत्यु हुने गरेको छ । हामीले हाम्रो दैनिकी र जीवनशैलीमा सुधार गर्न जरुरी छ’ उनले भने, ‘नियमित व्यायाम, स्वस्थकर खानपान, आवधिक स्वास्थ्य परीक्षण र चिकित्सकीय परामर्शबाट धेरै रोगलाई नियन्त्रण गर्न सकिन्छ ।’
उनले न्यूरोसंग सम्बन्धित रोगको निदान र उपचारमा जोड दिँदै शरीरका विभिन्न अंगमा रोगको दीर्घकालीन असरलाई कम गर्न सक्नु पर्ने बताए । उनले नेपालमा सहरी क्षेत्रमा स्वास्थ्य क्षेत्रको अवस्था केही सामान्य भए पनि दुर्गम गाउँवस्तीमा बसोबास गर्ने आम नागरिकलाई समयमै उपचार पाउन अझै गाह्रो रहेको चर्चा गरे ।
‘अझ जटिल र घातक रोगको उपचारका लागि विदेश जानुपर्ने बाध्यता छ । यो बाध्यता हटाउँदै अन्तर्राष्ट्रिय स्तरको सेवा स्वदेशमै उपलब्ध गराउन सक्नु पर्दछ ’ उनले भने, ‘न्यूरोसंग सम्बन्धित रोगको रोकथाम, नियन्त्रण र उपचारको भरपर्दो व्यवस्था गरी सबै नेपालीको जीवन रक्षाका लागि सरकारसँगै यस क्षेत्रमा क्रियाशील संघसंस्था पनि प्रतिबद्ध हुन जरुरी छ’ ।
उनले ‘नेप्लिज एकेडेमी अफ न्यूरोलोजी’ले न्यूरोलोजीसँग सम्बन्धित रोगहरूको नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने उल्लेख गर्दै न्यूरोलोजीको क्षेत्रमा देखिएका समस्याहरू पहिचान गर्न र त्यसको समाधानका लागि सम्मेलन सफल हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा उपराष्ट्रपति यादवले प्राडा. दिनेश विक्रम शाह, प्राडा. रविन्द्र श्रेष्ठ र डा. बिरेन्द्र कुमार विष्टलाई संस्थाका तर्फबाट सम्मानपत्र प्रदान गरे । कार्यक्रम संस्थाका अध्यक्ष डा.कृष्णकुमार ओलीको सभापतित्वमा सम्पन्न भएको थियो । डा. ओलीले कार्यक्रममा न्युरोलोजीमा देखिएका समस्या र तिनीहरुको निराकरणबारे आफ्नो महत्वपूर्ण विचार तथा अनुभव प्रस्तुत गर्ने डाक्टरहरुलाई सम्मान तथा मायाको चिनो प्रदान गरे ।
डा. ओलीले न्युरोलोजीको वर्तमान अवस्था र यसको निराकरणबारे पनि प्रकाश पारेका थिए । कार्यक्रममा डा. अरुण सायमी, प्राडा. दिनेश विक्रम शाह, प्राडा. रविन्द्र श्रेष्ठ र डा. बिरेन्द्र कुमार विष्टलगायतले मन्तव्य व्यक्त गरेका थिए । शनिबार बिहान ९ बजे वैदिक वटुकहरुद्वारा वेदका मन्त्र उच्चारण गर्दै शान्तिको कामनासहित उद्घाटन गरिएको २ दिने कार्यक्रमलाई उपराष्ट्रपति यादवले साँझ सम्बवधन गरेका हुन् ।