दक्षिण एसियाली राष्ट्रबीच हुने पुरुष फुटबल च्याम्पियनशिप (साफ) को १३ औं संस्करण मालदिभ्सको राजधानी मालेमा भोलि शुक्रबारदेखि खेलाइँदै छ । असोज १६ गतेसम्म जारी रहने साफमा नेपाल भारत, बंगलादेश, श्रीलंका र मालदिभ्स गरी ५ देशको सहभागिता रहने छ । यस पटकको साफमा पाकिस्तानको सहभागिता छैन । पाकिस्तान फुटबल संघमा तेस्रो पक्षले हस्तक्षेप भएको भन्दै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पाकिस्तानमाथि प्रतिबन्ध लगाएकोले पाकिस्तान साफ फुटबलबाट बाहिरिएको हो । भुटानले भने कोरोना भाइरस संक्रमण जोखिमको कारण च्याम्पियनशिपमा भाग लिन नसक्ने बताएको छ ।
सन् १९९३ मा साफ पाकिस्तानबाट सुरु भएको हो । ७ पटक साफको उपाधि जितेको भारत साफमा सबैभन्दा सफल छ । गत संस्करणको साफ फुटबलको उपाधि जितेको मालदिभ्सले २ पटक उपाधि जितेको छ । यसैगरी बंगलादेशले पनि १ पटक साफको उपाधि जितेको छ । सन् २००५ मा साफमा प्रवेश गरेको अफगानिस्तानले समेत सन् २०१३ मा नेपालमा आयोजना भएको १० औं संस्करणको साफको उपाधि जित्न सफल भयो । पछि सन् २०१५ मा मध्य एसियन फुटबल महासंघ “काफ” (CAFF) को संस्थापक सदस्य बन्न अफगानिस्तान साफबाट अलग भयो । नेपाल साफ फुटबमा हालसम्म सेमिफाइनलमै सीमित छ ।
फुटबल विश्वकै सबैभन्दा आकर्षक र सबैभन्दा बढी लोकप्रिय खेल हो । सन् १९१८ मा फ्रान्स र क्रोएसियाबीच भएको फाइनल खेल ९० देशका १ अर्व भन्दा बढी मानिसले टेलिभिजनमा हेरे । ५१ करोडले प्रत्यक्ष टेलिभिजनमा हेरेका थिए । यस्तो लोकप्रिय खेलमा दक्षिण एसियाली राष्ट्रको, विश्व फुटबलको मानचित्रमा नगन्य उपस्थिति छ । विश्व जनसंख्याको २० प्रतिशतभन्दा बढी जनसंख्या रहेको दक्षिण एसियाली मुलुक सार्कको अर्थतन्त्र ३ दशमलव ५ ट्रिलियन अमेरिकी डलरभन्दा बढी छ । जनसंख्या, अर्थतन्त्र र क्षेत्रफल विशाल भएपनि फिफा विश्वकपकासाथै एसियाली फुटबल प्रतियोगितामा सार्क राष्ट्रको प्रदर्शन निराशाजनक छ ।
फुटबलमा भारतको लागि सन् १९५१ देखि १९६२ को अवधिलाई स्वर्ण युगको रूपमा लिइन्छ । यस अवधिमा भारतले एसियन फुटबलका साथै ओलम्पिकमा समेत राम्रो सफलता पाएको थियो । तर विस्तारै भारतीय फुटबल खस्किंदै गई हालका वर्षमा भारत एसियन खेलको नकआउट चरणमा पनि पुग्न सकेको छैन । भारतको विश्व फुटबलमा निरन्तर खस्किंदो प्रदर्शनको कारण आम जनताको पनि फुटबल प्रतिको मोहभङ्ग हुनु स्वाभाविक नै हो । भारतीय फुटबल टिमका कप्तान सुनील क्षेत्रीले १ वर्ष अघि घरेलु मैदानमा विदेशी टिमसँग भएको एउटा प्रतिस्पर्धामा अधिक संख्यामा दर्शक रंगशालामा आई टिमको हौसला बढाउन गरेको आह्वानले माथि भनिएका कुराको पुष्टि गरिदिन्छ । यद्यपि हालका वर्षमा भारतीय सुपर लिग फुटबलले भारतको फुटबलको स्तर उकास्न निकै मद्दत गरेको छ ।
नेपालमा फुटबल विगतदेखि हालको दिनसम्म पनि लोकप्रिय रहँदै आएको छ । काठमाण्डौको दशरथ रंगशालामा हुने कुनै पनि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताका साथै मोफसलमा पनि उत्साहजन संख्यामा दर्शकको उपस्थिति रहँदै आएको छ । तर यो लोकप्रियता सधैको लागि हुन सक्दैन । बंगलादेशमा विगतमा फुटबल खेल निकै लोकप्रिय थियो । तर फुटबलको खस्किंदो र क्रिकेटको निरन्तर राम्रो प्रदर्शनका कारण बंगलादेशमा अहिले युवाको पहिलो रोजाइ क्रिकेट बन्न पुगेको छ । क्रिकेट पहिलो रोजाइमा पर्नु नराम्रो होइन तर फुटबलको मूल्यमा क्रिकेटको लोकप्रियता बढ्नु राम्रो होइन । अष्ट्रेलिया, इङ्ल्याण्ड लगायत कतिपय देशमा एकै पटक कैयौं खेल जनतामा लोकप्रिय छन् र अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । नेपालमा पनि फुटबल क्रिकेट लगायत अरू खेल पनि सँगसँगै लोकप्रिय बनाउन सकिन्छ । तर आवश्यक छ अन्तर्राष्ट्रिय प्रतियोगितामा उपाधिसँगै उत्कृष्ट प्रदर्शन । साफमा नेपालले पहिलो खेल आयोजक मालदिभ्ससँग शुक्रबार राति खेल्नेछ । नेपाली टिमलाई शुभकामना ।