नेपाल दूर सञ्चार प्राधिकरणका दुई घोटालामध्ये अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज एउटा घोटालाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । प्राधिकरणका दुई जना पूर्वअध्यक्ष दिगम्बर झा र पुरुषोत्तमप्रसाद खनालसहितका कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । मोबाइल म्यानेजमेन्ट सिष्टम (MDMS)को परामर्श सेवा खरिदमा अनियमितता भएको पाइएपछि मुद्दा दायर गरेको आयोगले बताएको छ ।
मुद्दामा तत्कालीन अध्यक्ष झा र खनाल, वरिष्ठ निर्देशक आनन्दराज खनाल, उपनिर्देशक मीनप्रसाद अर्याल, सहायक निर्देशक विनोदचन्द्र श्रेष्ठ, निर्देशक दिपेश आचार्य, उपनिर्देशक सुरेन्द्रलाल हाडा, उपनिर्देशक सूर्यप्रसाद लामिछाने, उपनिर्देशक अच्युतानन्द मिश्र, सहायक निर्देशकहरु रेवतीराम पन्थ, सन्दिप अधिकारी, विजयकुमार राय यादव, प्रतीक्षा पौडेल र नीराजन कोइरालाविरुद्ध रु ९१ करोड ९८ लाख ३० हजार आठ सय ८२ बराबरको बिगो दाबी गरिएको छ ।
अमेरिकी डलरको विनिमयदर बमोजिम थप रु २३ करोड २० लाख ५९ हजार तीन सय १४ बराबरको बिगो दाबी गर्दै असूल उपर गर्नसमेत आयोगले माग दाबी गरेको छ । त्यसैगरी न्युमेरा एम एडडीएन बीएचडी मलेसियाका कर्मचारीहरु, नमस्ते ग्लोबल कमन पीटीई सिङ्गापुरका निर्देशक कविन्द्रराज मल्ललगायत व्यक्तिविरुद्ध पनि समान बिगो दाबी गरिएको छ ।
मोबाइल म्यानेजमेन्ट सिष्टम (MDMS) खरिद गर्दा पुष्ट्याइँको आधारबिना बदनियत राखेको पाइएको आयोगको दावी छ । अस्वाभाविक ढङ्गले बढी काम लागत देखाई लागत अनुमान र बोलपत्र स्वीकृत नगराई काम गरेको पाइएको आयोगको दाबी छ ।
प्राधिकरणबाट टेरामक्स प्रविधि खरिद गर्दा करोडौँ घोटाला भएको विषयमा पनि अख्तियारले अनुसन्धान जारी राखेको छ । तत्कालीन दुई सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र मोहनबहादुर बस्नेतसँग आयोगले बयान लिइसकेको छ । मुख्यसचिव बैकुण्ठ अर्याल समेत उच्च अधिकारी पनि टेरामक्स घोटालामा सामेल रहेको उजुरीमा अख्तियारको अनुसन्धान जारी छ । टेरामक्स खरिदमा निकै उच्च व्यक्ति संलग्न रहेकोले अख्तियार नै अलमलमा परेको भन्ने समाचार आइरहेको छ ।