माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा सुन तस्करीमा एक नाइकेका रुपमा बेलाबेला चर्चामा आएका थिए । उनी उपप्रधानमन्त्री र अर्थमन्त्री रहेकै बेला २०७३ सालको पुसमा पोखरामा भएको अन्तर्क्रियामै उनले भनेका थिए- "म त भुरा माछा मात्रै हुँ, यहाँ धेरै ठूला माछाहरू छन्, समयक्रममा त्यो बाहिर आउँछ ।" उनै "भुरा" माछा आज भारततर्फ भाग्नै लाग्दा कपिलवस्तुमा समातिए । २०६४ सालदेखि उनी संचारमन्त्री, सभामुख र गृहमन्त्री समेत भएका थिए । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले काठमाडौँ ल्याएर अदालतमा बुझाउँदा उनलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । साथै हिरासतकै अवस्थामा उनलाई नर्भिक अस्पतालमा भर्ना गर्न पनि जिल्ला अदालतले आदेश दिएको छ ।
विगतमा सुन तस्करीको अनुसन्धानमा सिआइबीले महरालाई बयान लिएर गराएर छोडेको थियो । पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा गठित सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले पूर्वसभामुख महरामाथि छानबिन गर्न सिफारिस गरेसँगै थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका र जाँचबुझ आयोगले कारबाहीको सिफारिस गरेका सबैमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरीलाई आइतबार नै निर्देशन दिएका थिए ।
गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ साल पुसमा विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याइएको नौ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष महराको नाम जोडिएको थियो । उक्त प्रकरणमा उनकै छोरा राहुल र पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन यसअघि नै पक्राउ परिसकेका छन् ।
अघिल्लो अनुसन्धानमा त्रुटि भएको सुनको अबैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले औँल्याएपछि तत्कालीन सिआइबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यलाई केहीअघिको मन्त्रिपरिषद्को निर्णयले प्रहरी मुख्यालयमा सरुवा गरिसकिएको छ । त्यहाँ प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीलाई पठाइएको छ ।
गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोट (भेप)मा ल्याइएको नौ किलो सुन तस्करीमा सङ्लग्न चिनिया नागरिकसँग नाम जोडिएका केही व्यक्तिलाई त्यसबेला सिआइबीले बयान कागज गरेर मात्रै छाडेको थियो । त्यसमध्ये महरा पनि एक थिए ।