देशभर साधारणतया बदली रहने धेरै प्रदेशमा पानी पर्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा, बागमती प्रदेशका थोरै स्थान तथा बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
पश्चिमी वायुको प्रभावले अहिले सुदूरपश्चिमबाट बादल प्रवेश गरिसकेको जानकारी गराउँदै बदली हुन शुरु भैसकेको महाशाखाले जनायो । यसअघि शुक्रबारअघि बदली रहेको मौसम आज शनिबार खुलेको थियो । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।
आइतबार राति देशभर आंशिकदेखि साधारणतया बदली कायम नै रहने छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थान, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । सोमबारबाट भने मौसम क्रमशः खुल्नेछ ।
सोमबार कोशी प्रदेशलगायत देशको बाँकी पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थान साथै बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ ।