भारतीय सेनाबाट अवकास पाएका म्याग्दीको बेनी नगरपालिका–२ फापरखेतका नवीन घिमिरेले गरेको कालिजपालन व्यवसायले धेरैको ध्यान खिच्न थालेको छ । १७ वर्ष भारतीय सेनामा काम गरेर अवकास भएपछि गाउँ फर्किएर उनले कालिजपालन व्यवसाय अँगालेका हुन् । उनले रञ्जिला कृषि तथा पशुपक्षी फर्म दर्ता गरेर २०७७ सालको फागुनदेखि व्यवसायिक रुपमा नै कालिजपालन गर्दैआएका छन् ।
रु २१ लाखको लगानीमा स्थापित उनको फर्ममा अहिले ६०० कालिज हुर्कँदै छन् । यस अवधिमा उनले ११० वटा कालिज बिक्री पनि गरिसकेका छन् । बागलुङ, बेनी, भकुण्डे र पोखरा बजारमा कालिज प्रतिगोटा पैँतीस सय रुपैयाँका दरले बिक्री हुने गरेको उनले जानकारी दिए ।
“भारतीय गोर्खा सैनिकमा हुँदा आफ्नै गाउँकोजस्तै भूगोल भएको दार्जिलिङमा कालिजपालन गरेको देखेर म लोभिएको थिएँ”, ३९ वर्षीय घिमिरेले भने, “पाँच वर्षपछि सेवा निवृत्त भएर गाउँ आएँ, यहाँ आउँदा नेपाल सरकारले कालिजपालनका लागि अनुमति दिएको थाहा पाएपछि तत्कालै कालिजपालन व्यवसाय सुरु गरेको हुँ ।”
घिमिरेले सात रोपनी पाखोबारीलाई घेराबार गरेर जालीले छोपेको खोर बनाएका छन् । त्यही खोरमा ‘रिङनेट’ जातका कालिज हुर्किरहेका छन् । अधिकांश कालिज बिक्रिका लागि योग्य भएका उनले बताए । कालिजका लागि उनले रैथाने आहारा (मकै, गहुँ,कोदो)का साथै बजारको दाना पनि खुवाउने गरेका छन् । त्यसका साथै हरियो भूइँ तथा डालेघाँसबाट पनि कालिजलाई दानाको व्यवस्थापन गरेको उनले बताए ।
उनको फार्ममा स्थानीय तीन जना व्यक्तिले रोजगारी पनि पाएका छन् । अब ह्याचिङ मेसिन राखेर आफैँ चल्ला उत्पादन गर्ने र मासुका लागि भाले कालिजको सङ्ख्या बढाउने उनको योजना छ ।