विसं २०८१ का लागि १५ पात्रोलाई स्वीकृति दिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । नयाँ पात्रो यही माघ १५ गतेदेखि बजारमा आउने समितिको भनाइ छ । समितिले स्वीकृति दिएका पात्रोहरूमा तोयनाथ पन्तको, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बङ्गलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति, सिद्धि, खप्तड तारानाथ र गौरीशङ्कर गरी १५ पात्रो (पञ्चाङ्ग) छन् । पात्रोमा राखिने तिथि, बार, योग, नक्षत्र र करण गरी पाँच समूहलाई पञ्चाङ्ग भनिन्छ ।
भित्रे पात्रो (क्यालेण्डर) ले भने स्वीकृति नलिएको समिति बताउँछ । स्वीकृति नलिएका पात्रो र भित्तेपात्रोलाई अनधिकृत भन्ने गरिएको छ ।
स्वीकृति नलिएका पात्रोलाई कार्बाही गर्न पर्यटन मन्त्रालयको संस्कृति महाशाखा प्रमुखको संयोजकत्वमा गृह मन्त्रालयका प्रतिनिधिसहित सरोकार भएका निकायकासमेत प्रतिनिधिको सहभागितामा अनुगमन गरिने जनाइएको छ । अनुगमन समितिले आवश्यकताअनुसार उपसमितिसमेत गठन गर्न सकिने जनाएको छ । समितिका अनुसार निर्देशिका बनिसकेकाले यसपटक भने अनुगमनपछि स्वीकृति नलिई प्रकाशन हुने पात्रो र भित्तेपात्रोका प्रकाशक र सम्पादकलाई कारबाही गरिने भएको छ ।