‘श्रीपशुपति हिन्दू विश्वविद्यालय’ सरकारले काठमाडौँको गोठाटारमा स्थापना गर्ने भएको छ । हिन्दू धर्मको बृहत्तर खोज तथा अनुसन्धान गर्ने उद्देश्यले गोठाटारस्थित पशुपति क्षेत्र विकास कोषको जग्गामा हिन्दू विश्वविद्यालय स्थापना गर्न लागिएको हो । श्री पशुपति हिन्दू विश्वविद्यालय स्थापना तयारी समितिले आज अन्तिम प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाएसँगै विश्वविद्यालय निर्माणको आधार तयार भएको हो । समितिको प्रतिवेदन ग्रहण गर्दै पर्यटनमन्त्री सुदन किरातीले पशुपतिनाथ, हिन्दुत्व र हिन्दूको गहिराइ र महत्वलाई बोध गरेर पशुपति हिन्दू विश्वविद्यालय निर्माण गर्न लागिएको बताए । उनले विश्वविद्यालयको कानुनी प्रक्रिया पूरा गरेर विसं २०८१ सम्म सञ्चालन गर्ने योजनाअनुरुप काम अगाडि बढाइएको जानकारी दिए ।
कोषको गोठाटारमा रहेको पाँच सय रोपनी जग्गामध्ये दुई सय ५० रोपनी क्षेत्रफलमा विश्वविद्यालय बनाउने मन्त्रालयको योजना छ । समितिका संयोजक एवं संस्कृतिविद् डा जगमान गुरुङले पशुपतिनाथको माध्यमबाट विश्वलाई नेपालप्रति आकर्षण गर्ने उद्देश्यले पशुपति हिन्दू विश्वविद्यालय स्थापना गर्न लागिएको उल्लेख गरे । पूर्वीय दर्शन सम्भाव्यता र संस्कृतिको नेपालमुखी अध्ययनका लागि विश्वविद्यालय निर्माणको प्रक्रिया अघि बढाइएको उनको भनाइ छ । पर्यटन मन्त्रालयले गत वैशाख १३ गतेको निर्णयले हिन्दू धर्मको खोज तथा अनुसन्धान गर्ने उद्देश्यले विश्वविद्यालय स्थापना गर्न डा गुरुङको संयोजकत्वमा विज्ञ सरोकारवालाहरु सम्मिलित एक समिति गठन गरेको थियो ।
समितिले नौ महिना लगाएर तयार पारेको प्रतिवेदन आज मन्त्रालयलाई बुझाएको हो । नेपालभित्रको धर्म, संस्कृति, सभ्यता, कला र दर्शनको मात्र अध्ययन, अध्यापन र अनुसन्धानलाई मुख्य विषय र लक्ष्य बनाएर भगवान् श्रीपशुपतिनाथका नामबाट हिन्दू दर्शन, बौद्ध दर्शन एवं नेपालमा प्रचलित धर्म दर्शनहरु निगम, आगम, जीवपद्धति, संस्कृति, संस्कार र परम्परालाई उजागर गर्न अध्ययन एवं अनुसन्धानको आवश्यकता भएबमोजिम गुठी मोडलमा विश्वविद्यालय स्थापना गर्ने सोच समितिले तय गरेको छ ।
नेपालमा प्रचलित धर्म, दर्शन र लोकसंस्कृतिको अध्ययन, अनुसन्धानलाई मुख्य लक्ष्य बनाएर स्थापना गरिने यस विश्वविद्यालयको स्वत्व भनेको नेपालमुखी भएको समितिको निष्कर्ष छ । विश्वविद्यालय नितान्त नेपालको पहिचान विश्वपरिदृश्यमा स्थापित गरी विश्वलाई नेपालतर्फ आकर्षित गर्नसक्ने गुणस्तरीय विश्वविद्यालय बन्ने समितिका सदस्यसचिव डा घनश्याम खतिवडाले विश्वास व्यक्त गरे ।
उनका अनुसार सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पशुपति र लुम्बिनीमा विशिष्टीकृत अध्ययन केन्द्रको विकास गर्ने विषय उल्लेख भएबमोजिम समय सान्दर्भिक रुपमा श्रीपशुपति हिन्दू विश्वविद्यालय स्थापना तयारी अघि बढेको हो । विश्वविद्यालयको स्वरुपबारे विज्ञहरुसँग परामर्श गरी रायसुझाव लिइएको तथा विश्वविद्यालयको विधेयक मस्यौदा गर्ने कार्यका लागि कोष व्यवस्थापनसमक्ष अनुरोध गरिएको सदस्यसचिव खतिवडाले जानकारी दिए ।