विवाहको चालु साइतहरूमा महिला पुरोहितको प्रयोग बढ्दो छ । बालिकाश्रम गुरुकुल चितवन देवघाटका तीन जना बालिकाले काठमाडौँका विभिन्न ठाउँमा विवाहको कर्मकाण्ड गराएका हुन् । उनीहरूले यसअघि चितवन र नवलपरासीमा विवाह गराउँदै आएका थिए ।
झापा चारआली घर भै बेलायत बस्दै आएको उद्धव भट्टराईको परिवारले उनकी छोरी अस्मिता भट्टराईको बिहेमा आफ्नो तर्फबाट महिला पुरोहित खोजेको हो । बेहुलीले नै चितवनमा खबर पठाएर महिला पुरोहित काठमाडौँमा झिकाएर कर्मकाण्ड गराएकी हुन् । काठमाडौँमै मूल घर रहेका बेहुला असीम अर्यालका तर्फबाट भने पुरोहित पुरुष नै व्यवस्था गरेका थिए । बेहुली पक्षबाट पुरोहित्याइँ गर्नेमा स्मृति टण्डन लोककल्याणी, सुनिता लोककल्याणी र तुलसा लोककल्याणी थिए । उनीहरूले कन्या गुरुकुलमा बसेर रुद्री लगायत कर्मकाण्ड पढेका हुन् । स्मृति व्यवस्थापनमा स्नातक अध्ययनरत छन् भने सुनिता शास्त्री तहमा व्याकरण मूल विषय लिएर अध्ययनरत छन् । सुनिता लगायत केहीले काठमाडौँको गार्गी कन्या गुरुकुलमा रुद्री पढेका हुन् । पछि चितवनको बालिकाश्रमसँग गाभिएपछि गार्गीका १६ जना छात्रा चितवन लगिएका हुन् ।
गार्गी फुटेर ती छात्रा बाँडिएका छन् । बालिकाश्रमतर्फ रहेका छात्राले कर्मकाण्डलाई निरन्तरता दिएका हुन् । उनीहरूबाट कर्माकाण्ड गराउन मानिसहरू चितवन नै पनि पुग्ने गरेका छन् । त्यहाँ उनीहरूले रुद्री र देवीभागवत् नवाह समेत लगाउने गरेका छन् ।
बेहुलातर्फका पुरोहित कृष्णप्रसाद घिमिरेले विदुषीहरू कर्मकाण्डमा आउनु राम्रो भएको बताए । समयअनुसार समानताको लागि कर्मकाण्डले मद्दत गर्ने उनले बताए । विदुषी पुरोहितहरू अनुभवी गुरुसँग काम गर्न पाउँदा सिक्ने अवसर मिलेको बताउँछन् । उनीहरूले पुरुष पुरवहितसरह नै वेदका ऋचा भट्याउँदै विवाह गराउने गरेका छन् ।
नेपालमा स्वामी कमलनयनाचार्यले पनि कन्या गुरुकुल संचालन गरेका थिए । उनका उत्पादन पुराण वचनमा केन्द्रित छन् । कर्मकाण्ड गराउने गरी महिला पुरोहित तयार गर्ने गरी गार्गी कन्या गुरूकुल भने अंगुरबाबा जोशीको अगुवाईमा खुलेको थियो । उनको स्वास्थ्य बिग्रिँदै गएपछि चितवनको बालिकाश्रममा त्यसलाई गाभिएको थियो ।
गुरुकुल र वैदिक शिक्षाको पुनर्जागरण सम्बन्धमा पीएचडी गरेका राजेन्द्रराज तिमिल्सिनाले विश्व पुँजीवाद खेती किसानी समाप्त भएको र आयमूलक पेसा, समानताको अभियान तथा कानून र प्रविधिमा आएको परिवर्तनले वैदिक शिक्षा समावेशी हुन पुगेको बताए । उनले यस्तो सामाजिक परिवर्तनलाई नवसंस्कृतिको सिद्धान्त (निओ-संस्कृताइजेशन) भन्ने गरेका छन् ।
वैदिक शिक्षामा वेद, पुराण/संस्कृत र ज्योतिष विधा गरी तीन विधामा छात्राहरू विभिन्न गुरुकुलमा अध्ययनरत रहेको तिमिल्सिनाले जानकारी दिए । लैंगिक समानताको दृष्टिले कर्मकाण्डमा महिला सहभागितालाई प्रोत्साहन गर्न महिला पुरोहित खोजेको बेहुली र उनका अभिभावकको भनाइ छ ।