चीनले प्रधानमन्त्री दाहाल (प्रचण्ड)को भ्रमणका क्रममा कोरलालगायत नेपालका १४ वटा व्यापारिक नाका खुुलाउन तयार रहेको जनाएको थियो । मुस्ताङमा रहेको नेपाल–चीनबीचको कोरला नाका सञ्चालनका लागि तयारी गरिएको छ ।
कोरला नाका सञ्चालनको तयारी भएसँगै सीमा क्षेत्रका बासिन्दालाई प्रवेशपत्र वितरण गर्ने प्रक्रिया अघि बढाइएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । उनले भने अनुमतिपत्र बुकलेट छपाइसम्बन्धी सबै काम पूरा भएको छ, गृह मन्त्रालयले पठाएको नमूनाअनुसार चीन प्रवेशपास छपाइ गरेर वितरणका लागि तयारी गरेका छौँ ।
चीनको सिमाना नजिकको उपल्लो मुुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाबाट प्रवेश पासको आवेदन सङ्कलन गरिएको छ । बोर्डर पास वितरणका लागि चार कर्मचारीलाई सोमबार लोमान्थाङस्थित इलाका प्रशासन कार्यालय पठाइएको प्रजिअ पन्तले बताए । उनले भने नाका खोल्ने निर्णय भए पनि मिति तय भइसकेको छैन, चिनियाँ सुुरक्षा अधिकारीसँग बैठक र गृह मन्त्रालयसँग समन्वय गरेर जति सक्दो छिटो नाका सञ्चालन गर्ने तयारीमा छौँ ।
कोरोना महामारी सुरु भएपछि कोरला नाकामा हरेक वर्षको दुुईपटक सञ्चालन हुदै आएको अन्तरदेशीय व्यापार मेला विसं २०७६ देखि भएको थिएन् । दशै अघि नै व्यापार मेला आयोजना गर्ने मुुस्ताङका सुुरक्षा अधिकारी र जनप्रतिनिधिहरुले पहल गरेका छन् । प्रवेशपास भएका नागरिकहरु जुुनसुुकै समयमा पनि चीन जाने आउने सुविधा पाउनेछन् ।
असोज ३ गते चिनियाँ दूतावासले पठाएको कूटनीतिक नोट गृह मन्त्रालयले मुस्ताङ प्रशासनलाई पठाएर नाका खोल्ने तयारी गर्न भनेको छ । १५ अक्टोबरमा नेपाल र चीनका अधिकारीबीच बैठक बस्ने तयारी भएको छ। सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमि प्रयोग गरेर विद्रोहमा उत्रिएका थिए । सोही विद्रोहका कारण विसं २०३२ देखि कोरला नाका आवत–जावतमा कडाइ गरिएको थियो । विसं २०५८ सालसम्म रोकतोक नरहेको सीमा २०५९ देखि चीनले तारबार गरेर मेला बाहेकको अवधिमा बन्द गर्दै आएको छ ।
नाका सञ्चालन भएपछि मुुस्ताङका बासिन्दाले दैनिक उपभोग्य, निर्माण सामग्री, लत्ताकपडालगायत सामग्री सस्तोमा आयात गर्न पाउने अपेक्षा गरेका छन् । यसैगरी, पस्मिना, जडीबुटी निकासी गर्न पनि सकिने लोमान्थाङ गाउँपालिकाका उपाध्यक्ष छ्युमी विष्टले बताए ।