सडक व्यवसायीलाई विस्थापन गर्न पाइँदैन भन्दै केही महिना देखि काठमाडौँ महानगरपालिकाविरुद्ध प्रदर्शन गर्दै आएका चमेली ग्रुपले काठमाडौँ महानगरपालिकालाई अवधारणा पत्र बुझाएको छ ।
महानगर प्रमुख बालेन्द्र शाहकै चुनावी अभियानमा लागिपरेका ' चाउ ' नाम गरेका सामाजिक अभियन्तासमेतको नेतृत्वमा भइरहेको प्रदर्शनमा शनिवारसम्म पुकार बम, कोरोनाका बेला सत्याग्रह गरेका अभियन्ता ई: लगायतकाको उपस्थिति रह्यो । शुक्रवार रातिसम्म ७७ घण्टा लगातार महानगरको कार्यालय राष्ट्रिय सभागृह आगाडी यस विषय उठाएर प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरूको माग पूरा नभएपछि फेरी उनीहरूले ४६ घण्टा प्रदर्शनको समय थप गरेर १२३ घण्टा प्रदर्शन गर्ने निर्णय गरेका छन् ।
आफूहरूले पटक पटक सडक व्यवसायीहरूको परिवार मार्न हुँदैन भन्दै प्रदर्शन गरे पनि महानगर र नगर प्रमुखले बेवास्ता गरेको चाउकाे जिकिर छ ।पहिले शाहको चुनावी यात्रामा खटिएर समर्थन गरे पनि आफू हनुमान नभएर अझै पनि समर्थक भएको उनी बताउँछन् ।
यता नगर प्रमुखको सचिवालय स्रोतले प्रदर्शनकारीहरूलाई पटक पटक काठमाडौँ महानगरपालिका सांस्कृतिक र पर्यटकीय नगर भएकाले कुनै हिसाबले पनि सडकमा व्यापार गर्न नमिल्ने बताउँदा पनि उनीहरूले कुरा नबुझेको बताए । श्रोतका अनुसार महानगरले पहिला जे कानुन थियो त्यसकै कार्यान्वयन गरेर सडकमा व्यवसाय सञ्चालन गर्न नदिँदा यस्तो समस्या आएको हो ।
"कानुनको उचित कार्यान्वयन गर्दा यसको पालना गर्दिनँ भन्नु जायज होइन" सचिवालयको अर्का उच्च अधिकारीले बताए । यता चमेलीहरू भने जनताको आशा रहेको मेयरले चुनावअघि गरेको वाचा पूरा गर्न असमर्थ हुन नहुने बताउँछन् ।
इमेलमार्फत धेरै चोटि प्रमुख र सचिवालयका पदाधिकारीहरूलाई यस विषयमा ध्यानाकर्षण गराउँदा पनि उनी लगायतका अधिकारीहरूले बेवास्ता गरेको प्रदर्शनकारीहरूको जिकिर छ । यता अधिकारीहरूले भने फोन र भेटमार्फत धेरै चोटि प्रदर्शनकारीहरूलाई उनीहरूले राखेको माग पूरा गर्न कानुनसम्मत नहुने भन्दा भन्दै उनीहरूले अटेर गरेर कानुनमाथि टेक्न खोजेको बताउँछन् ।
यस विषयमा ठेलागाडा व्यवसायीहरूले पनि महानगरको कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका छन् ।