‘समावेशी र सीपमूलक शिक्षाः स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने नारा सहित आज मुलुकभर राष्ट्रिय शिक्षा दिवस, २०८० मनाइँदैछ । सरकारले संविधानको मौलिक हकको कार्यान्वयनका लागि ‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५’ प्रमाणीकरण भएको मितिलाई आधार मानी यस वर्षदेखि हरेक बर्ष असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको हो ।
नेपालमा विसं २०३१ देखि राष्ट्रिय शिक्षा दिवस मनाउन शुरु गरिएपनि गणतन्त्र स्थापनापछि हरेक अन्तर्राष्ट्रिय साक्षरता दिवस (सेप्टेम्बर ८)कै दिन मनाउने गरिएको थियो । २०७६ सालदेखि दुई दिवसलाई अलग–अलगरूपमा मनाउने निर्णय भए पनि राष्ट्रिय दिवसको मिति भने निर्धारण हुन सकेको थिएन ।
दिवसका अवसरमा मन्त्रालयले ‘क’, ‘ख’ र ‘ग’ श्रेणीका नेपाल विद्याभूषण तथा उत्कृष्ट शिक्षालय, प्रशिक्षण, कर्मचारीलगायतलाई राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गर्नेहरुको नामावली सार्वजनिक गरेको छ । राष्ट्रपतिले दिने नेपाल विद्याभूषण पदक भने पदक तयार हुन नसकेका कारण दिवसका दिन वितरण नगरिने भएको छ । अर्थ मन्त्रालयले समयमै बजेट नछुट्याउँदा पदक तयार गर्न नसकिएपनि नामावली सार्वजनिक गरिएको र उपयुक्त समयमा सम्बन्धित व्यक्तिहरुलाई दिइने मन्त्रालयले जनाएको छ ।
स्वदेश र विदेशका विश्वविद्यालयबाट विभिन्न विषयमा विद्यावारिधि उपाधिप्राप्त सात सय ९० जनालाई ‘क’, स्नातकोत्तर तहमा आफ्नो विधामा सर्वोत्कृष्ट हुने ७१ लाई ‘ख’ र स्नातक तहमा सर्वोत्कृष्ट हुने ४४ जनालाई ‘ग’ श्रेणीको पदक दिइनेछ । यस्तै छात्रा विद्यापदक पनि प्रदान गरिनेछ ।
‘नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्यापदक र राष्ट्रिय शिक्षा पुरस्कारसम्बन्धी निर्देशिका, २०७७’ बमोजिम एक सय ७७ जनालाई पुरस्कृत गरिने छ । पुरस्कृत हुनेमा विसं २०७९ को माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसइई) मा उत्कृष्टताका आधारमा सामुदायिक (सार्वजनिक) विद्यालयतर्फ सिन्धुलीको कमला मावि, दुधौलीलाई राष्ट्रिय शिल्ड, ध्वजा र नगदसहित तीन लाख, द्वितीय हुने सिन्धुलीकै कमला मावि, कमलामाईलाई दुई लाख र तृतीय हुने सल्यानको नारायण मावि, कुमाखलाई एक लाख रुपैयाँ राशिको पुरस्कार प्रदान गरिनेछ ।
निजी (संस्थागत) विद्यालयतर्फ राष्ट्रियस्तरमा प्रथम भई ललितपुरको प्रसादी एकेडेमीले तीन लाख, द्वितीय भई काठमाडौँको सेन्ट जेभियर्स कलेजले दुई लाख र तृतीय भई काठमाडौँकै बूढानीलकण्ठ स्कुलले एक लाख रुपैयाँ प्राप्त गर्नेछ ।
प्राविधिक विद्यालयतर्फ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सिफारिसका आधारमा रुपन्देहीको कोरिया नेपाल बहुप्राविधिक शिक्षालय, मोरङको मनमोहन मेमोरियल पोलिटेक्निक, झापाको लाइफलाइन अस्पताल प्रालि र मोरङको आदर्श माविले प्रतिसंस्था एक/एक लाख रुपैयाँको पुरस्कार प्राप्त गर्नेछन् ।
उत्कृष्ट क्याम्पसतर्फ विश्वविद्यालय अनुदान आयोगको मूल्याङ्कनका आधारमा आङ्गिक क्याम्पसमध्ये ललितपुरको पुल्चोक क्याम्पस, सामुदायिकतर्फ रुपन्देहीको लुम्बिनी वाणिज्य क्याम्पस, निजीतर्फ काठमाडौँको काठमाडौँ मोडेल कलेजले प्रतिसंस्था दुई लाख ५० हजार रुपैयाँ राशिको पुरस्कार पाउँदैछन् ।
यसै वर्षदेखि स्थापना गरिएको समाजकल्याण शिक्षा पुरस्कार भक्तपुरको एसओएस बालग्राम, सुर्खेतको कोपिला भ्याली सेवा समाज र काठमाडौँको माला खरेल, बाल सारथी एकेडेमीलाई प्रतिसंस्था तीन लाख रुपैयाँका दरले पुरस्कार प्रदान गरिनेछ । सडक बालबालिका, एचआइभी एड्स सङ्क्रमितका सन्तान, अशक्त तथा असहाय बालबालिकालाई पालनपोषणसहित शिक्षा प्रदान गरी राष्ट्रियस्तरमा उल्लेखनीय योगदान दिएका व्यक्ति र संस्थालाई यो पुरस्कार दिइन्छ ।