असोज २ गते मनाउन लागिएको शिक्षा दिवसका दिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हरेक बर्ष वितरण गर्ने विभूषण यस बर्ष वितरण नगरिने भएको छ । विभूषण तयार गर्नकालागि आवश्यक बजेट अर्थ मन्त्रालयले समयमै उपलब्ध नगराएको र विभूषण तयार गर्नकालागि ३ महिनाको समय चाहिने ललितपुरको घरेलु कार्यालयले भनेका कारण पनि विभूषण वितरण नगरिने मन्त्रालयका सचिव सुरेश अधिकारीले जानकारी दिएका छन् ।
एउटा विभूषण बनाउन सरदर १८ देखि २० हजार लाग्ने र अर्थ मन्त्रालयले ४ करोड रुपैयाँ मात्र विनियोजन गरेको मन्त्रालयले जनाएको छ ।
शिक्षा दिवसका दिन सरकारले विभिन्न तहमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी तथा विद्यावारिधी गर्नेहरुलाई विद्याभूषण पदक क, ख र ग वितरण गर्दै आएको छ । यसैगरि छात्रा विद्याभूषण पदक 'क' र 'ख' तथा नेपाल प्रविधि विद्याभूषण पदक समेत वितरण गर्न लागिएको मन्त्रालयले जनाएको छ ।
नेपाल विद्याभूषण पदक 'क' प्राप्त गर्नेलाई जर्ति बाहेक ४२ ग्राम शुद्ध चाँदी र १ ग्राम सुनको जलप, विद्याभूषण पदक 'ख' प्राप्त गर्नेलाई ३१ ग्राम चाँदी र १ ग्राम सुनको जलप र विद्याभूषण पदक 'ग' प्राप्त गर्नेलाई २२ ग्राम चाँदी र १ ग्राम सुनको जलप भएको तक्मा दिने प्रचलन रहेको छ ।
यस पटक जम्मा ९ सय ६२ जनाले विभूषण प्राप्त गर्नेछन् । जसमध्ये विद्यावारिधी गर्ने ७९० जनाले विद्याभूषण पदक 'क', स्नातकोत्तर तहमा सर्वोच्तकृष्ट अंक ल्याउने विद्यार्थीलाई दिइने विद्याभूषण पदक 'ख' ७१ जनाले तथा स्नातक तहमा सर्वोत्कृष्ट अंक ल्याउनेलाई दिइने विद्याभूषण पदक 'ग' ४४ जनाले पाउने भएका छन् । यसैगरि छात्रातर्फ समेत छात्रा विद्याभूषण पदक 'क' २८ जनाले र छात्रा विद्याभूषण पदक 'ख' १८ जनाले पाउँदै छन् । पहिलो पटक वितरण गर्न लागिएको नेपाल प्रविधि विद्याभूषण पदक ११ जनाले पाउने छन् ।
हुनत मन्त्रालयमा विद्याभूषण पदक पाउनकालागि १ हजार ७९ जनाले आवेदन दिएकोमा कतिपयको कागजान नपुगेको, विश्वविद्यालयहरुको दीक्षान्त समारोह नभएको, विषयमा उत्कृष्ट अंक ल्याउनेलाई पदक नदिइने भएपनि त्यस्ता विद्यार्थीले समेत आवेदन दिएको मन्त्रालयले जनाएको छ । विभूषण तयार नभएका कारण राष्ट्रपति कार्यालयमा हुने शिक्षा दिवसको कार्यक्रम यस पटक नहुने तर विभूषण पाउनेहरुको नाम सार्वजनिक गरि उपयुक्त समयमा वितरण गरिने मन्त्रालयले जनाएको छ ।