आमाकाे मुख हेर्ने र बाको मुख हेर्ने दिन वर्षको एक/एक पटक पर्ने गर्छ । जन्मदाताप्रति अनुगृति हुँदै कृतज्ञता प्रकट गर्ने र बावुआमाको सेवा गरेर सत्मार्गमा लाग्न प्रेरित भैरहने दिन हुन् यी दुइटा । आमा र बाको सेवा गरेपछि उनीहरु बाचुञ्जेल अर्को ठूलो देवता र तीर्थ छैन भनिन्छ । त्यसैले मातृदेवो भव:, पितृदेवो भव: भनिएको हो । जस्तासुकै भएपनि छोराछोरीलाई बावुआमा र बावुआमालाई छोराछोरी प्यारा हुन्छन् । त्यसमा पनि पूर्वीय सभ्यताका मुलुकमा यो मान्यता गहन बनेर स्थापित छ । पश्चिमा मुलुकमा १८ वर्ष पुगेपछि स्वतन्त्र भएर घर छोडेर जाने र आफैं कमाएर खाने चलन छ । मन लागे आफ्ना पुर्खालाई सम्झिएपनि भयो नसम्झिएपनि भयो । पूर्वीय सभ्यतामा भने जीवित रहँदा मात्रै नभै दिवङ्गत भैसकेपछि पनि पुर्खालाई पुज्नै पर्छ, नपुजे शान्ति र सफलता मिल्दैन भन्ने मान्यता छ । पुर्खा पूजन अपरिहार्य छ ।
व्यावहारिक रुपमा हेर्दा पनि बावुआमाको निगरानीमा रहेका सन्तान र अभिभावकविहीन सन्तानको मानसिक सोच र सफलतामा धेरै अन्तर पाइन्छ । त्यसैले बिना बावुको छोराको कल्पना पनि गरिँदैन । सन्तान कुपात्र होला तर आमा कुमाता हुँदिनन् भनिन्छ- "कुपुत्रो जायेत क्वचिदपि कुमाता नभवति ।" तर पछिल्लो समयमा पश्चिमा चलन भित्रिएको छ । छाेराछोरीले बावुआमालाई भन्दा साथी र कुसंगतलाई प्रधान ठान्ने एउटा समस्या धेरैमा देखिँदैछ भने वैवाहिक सम्बन्ध विच्छेदले सन्तान अलपत्र पार्ने गरेको छ । यसो गर्दा मातृ वात्सल्य र पितृत्वको अनुभव र मार्गनिर्देशनबाट सन्तान विमुख हुन पुग्ने विकृति बढ्दो छ । सन्तानका बावुआमा भैसकेकाहरु सन्तान बिचल्ली पारेर अर्को जोडी बाँधेर हिँड्न पाउने पश्चिमा कानूनी प्रणाली भित्र्याइएको छ । यस्तो कानून बनाउँदा चिल्लीबिल्ली हुने लालाबालाको बारेमा ध्यान दिएको पाइएन ।
पश्चिमा कानून मात्रै नभै पश्चिमा शिक्षा पद्धतिले सन्तानसँग अभिभावकको सम्बन्ध खुकुलो बनाइदिएको छ । परिवार नियोजन अभियानपछि सकेसम्म १ वा २ सन्तान जन्माउने र पुल्पुल्याउने चलन छ । आम्दानी गर्न सकेकाहरुले सन्तानको लागि अनावश्यक रकम दिएर स्कूल पठाउने र आफ्नो जिम्मेवारी पूरा भएको ठान्ने गरिन्छ । स्कूलमा सन्तानको संगतबारेमा सोच्दै साेचिँदैन । कलेजमा त कुरै भएन । स्कूलदेखि नै ठूलो संख्याका विद्यार्थी कुसंगतकै कारण दुर्वयसनमा फँस्ने संख्या ठूलो छ । बेपत्ता हुने बालबालिकामध्ये अधिक संख्या दुर्व्यसनकै कारण घर छोडर हिँड्छन् । उनीहरु लागु पदार्थका अम्मलीहरुको चंगुलमा परिसकेका हुन्छन् । त्यसरी घरको सम्पर्कमा नआएका बालबालिकालाई हराएको सूचीमा राखिन्छ । दुर्व्यसनीहरु नै अपराधमा लाग्ने र ज्यान मार्ने काममा समेत प्रवृत्त भएको समाचारमा आउने गरेको छ । यो क्रम निरन्तर बढ्दैछ । स्कूले जीवनमा सुर्ती, चुरोट वा हुक्काबाट शुरु हुने दुर्व्यसन लागु पदार्थमा प्रवेश गर्दछ ।
नेपाल प्रहरीको पछिल्लो तथ्याङ्कले भाडाका सवारी चलाउने चालकमध्ये झण्डै एक तिहाई चालकको रगतमा लागु पदार्थ रहेको फेला पारेको छ । अभिभावकबाट टाढा रहेर दुर्व्यसनीहरुको फन्दामा पर्दा ती किशोरकिशोरी र युवायुवतीको भविष्य बर्बाद भैरहेको छ । साथीकोमा बस्छु भन्छ र घरबाट एकछिन काम छ भनेर निस्किन्छ भने बुझ्नोस् तपाइँको सन्तान कम्तीमा पनि चुरोटको लतमा फँसिसक्यो । अरु त कुनकुन लत छन्, तपाइँलाई थाहै हुन्न किनकि तपाइँले आफ्नो सन्तान पनि कुलतमा पर्छ भन्ने विश्वासै गर्नुहुन्न ।
आज काठमाडौं लगायत शहरका कफी शपहरुमा पुगियो भने कलेजको पोशाकमै चुरोट सेवन गर्ने युवक र युवती मात्रै भेटिन्छन् । चुरोटको धुवाँ यतिसम्म हुन्छ कि चुरोट नपिउनेले चियाकफी पिउन पनि नसक्ने अवस्था छ । ती ठाउँ लागु पदार्थ र खासगरी गाँजाको कारोबार हुने ठाउँमा पनि परिणत हुन सक्ने खतरा देखिएको प्रहरीहरु बताउँछन् । साथै अन्य लागु पदार्थको खपत तथा कारवबारका सम्पर्कविन्दु पनि ती ठाउँ हुन सक्ने खतरा उनीहरु औंल्याउँछन् । बावुआमा छोडेर होस्टेलमा बस्ने अनि क्याफेमा गएर साथीहरुसँग त्यस प्रकारको दुर्व्यसनमा पर्ने तथा अपराधमा समेत जोडिने क्रम तीव्र बन्दै गएको प्रहरी अधिकारीको अनुभव छ । दुर्व्यसनमा परेकाहरु लागु औषध माफियाको जालोमा परी अरु साथीलाई समेत जालोमा तान्ने गरेका छन् ।
तिनलाई मातापिताभन्दा साथी ठूलो लाग्ने गर्छ । बालअधिकार तथा स्वतन्त्रताको नाममा स्वयं दुरुपयोग भैरहेको कुरा उक्त समूहले पत्तो पाइरहेको देखिँदैन । यो जमातले प्रहरीको कुरा पनि सुन्नै चाहँदैन । अभिभावकले त रकम दिएर होस्टेलमा वा डेरामा छोडेपछि सन्तानप्रतिको जिम्मेवारी पूरा भएको ठानिरहेका छन् । सामाजिक सञ्जालबाट "ह्यापी फादर्स डे" "ह्यापी मदर्स डे" को सन्देशले दङ्ग परेर बसेका मातापितालाई थाहै छैन कि आफना सन्तान कुसङ्गतको चङ्गुलमा परिसकेको कुरा । अन्तिममा सन्तान र अभिभावक दुवैको बिचल्ली हुने अनि सम्पत्तिको पनि नाश हुने परिस्थिति बढिरहेको छ । पश्चिमा हिप्पी संस्कृतिले धेरै नेपाली सन्तान र अभिभावक एकअर्काबाट विमुख हुने क्रम बढ्दो रहेको कुरालाई समाजमा बहसको विषय बनाउनु पर्ने भैसकेको छ । देश विकासमा लाग्न सक्ने ठूलो जनशक्ति जिउँदै नरकमा परेको र अभिभावकलाई पनि नरकमा तानेको विषयमा अभिभावकहरु जानकार होउन् ।