ललिता निवासको सरकारी जग्गा किर्त कागजातमार्फत् किनबेच गरेको अभियोगमा परेका अभियुक्तहरुलाई धरौटी र तारेखमा छोडेर पुर्पक्ष गर्ने आदेश काठमाडौं जिल्ला अदालतले दिएको छ । त्यस क्रममा भाटभटेनी सुपरस्टोरका संचालक मीनबहादुर गुरुङसँग रु दुई करोड ४६ लाख धरौटीमा छाड्ने आदेश भएको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासले आज उक्त धरौटी लिएर थुनामुुक्त गर्न आदेश गरेको हो ।
बालुवाटारस्थित उक्त सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कागजात कीर्ते आरोपमा मुद्दा चलाएको थियो । अभियुक्तमध्ये केशव तुलाधरलाई साधारण तारेखमा छाडिएको छ भने अरू सबै आरोपितलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको हो ।
धरौटी रकम अभियुक्तपिच्छे फरक छ । अदालतले शिवजी भट्टसँग रु तीन लाख ३० हजार, रुद्रकुमार श्रेष्ठसँग रु सात लाख ५० हजार, बालकृष्ण श्रेष्ठसँग रु सात लाख ५० हजार, कलाधर देउजासँग रु १५ लाख धरौटी मागेको छ । त्यस्तै, घमनकुमार कार्कीसँग रु सात लाख ५० हजार, गोपाल कार्कीसँग रु सात लाख ५० हजार, विनोद पौडेलसँग रु १५ लाख, योगराज पौडेलसँग रु सात लाख ५० हजार, नारायणराज मिश्रसँग रू सात लाख ५० हजार, अरुणकुमार श्रेष्ठसँग रु सात लाख ५० हजार धरौटी माग गरिएको छ । ध्रुवप्रसाद अर्यालसँग रु तीन लाख ३० हजार, बाबुराजा महर्जनसँग रु एक लाख १० हजार, देवनारायण महर्जनसँग रु एक लाख १० हजार, सकलानन्द महर्जनसँग रु एक लाख १० हजार, सञ्जयकुमार महर्जनसँग रू एक लाख १० हजार र लोकरी घिमिरेसँग रु एक लाख ५० हजार धरौटी लिएर उनीहरुलाई तारेखमा छोड्ने निर्य भएको काठमाडौं जिल्ला अदालतले जनाएको छ ।