अमेरिकी राष्ट्रपति, बेलायती तथा चिनियाँ प्रधानमन्त्री लगायत विश्वभरका नेताहरु अहिले भारतमा भेला भैरहेका छन् ।
भोलीदेखि त्यहाँ शुरु हुने जी-२० समुहको वार्षिक शिखर सम्मेलनकालागि नेताहरु भारत पुगेका हुन् । यसैगरि सम्मेलनमा संयुक्त राष्ट्र संघ, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व स्वास्थ्य संगठन लगायतका अन्तर्राष्ट्रिय संघ संगठनका प्रमुख तथा प्रतिनिधिसमेत सहभागी हुँदैछन् । यस बाहेक समुहको अध्यक्षका हैसियतमा भारतले बंग्लादेश, मरिशस समेत ९ वटा मुलुकका सरकार प्रमुखहरुलाई समेत सम्मेलनमा आमन्त्रण गरेको छ ।
सम्मेलनमा रसियाली राष्ट्रपति भ्लादिमीर पुटीन र चिनिया राष्ट्रपति शी जीनपीङ सहभागी नहुनेभएपछि सम्मेलनको महत्व घटेको विश्लेषकहरुले बताएका छन् । रसियाबाट त्यहाँका विदेशमन्त्री तथा चीनबाट प्रधानमन्त्री सहभागी हुँदैछन् ।
सम्मेलनमा जलवायु परिवर्तनले पारेको असर, व्यापार सहजीकरण, दीगो विकास लक्ष्यका सम्बन्धमा प्राप्त उपलब्धि लगायतका विषयमा छलफल हुने सूची तयार गरिएको छ । यसैगरि अफ्रिकी युनियनलाई जी-२० को पूर्ण सदस्यता दिने बारेमा समेत निर्णय हुने बताइएको छ ।
हाल १९ वटा मुलुक र युरोपेली युनियन सदस्य रहेको समुहले विश्वको कुल ग्राहस्थ उत्पादन मध्ये ८० प्रतिशत हिस्सा ओगट्ने गरेको छ । यसैगरि अन्तर्राष्ट्रिय व्यापारको ७५ प्रतिशत व्यापार यही समुहभित्र हुने गरेको छ । यस समुहका सदस्य राष्ट्रहरुमा विश्वको दुई तिहाई जनसंख्या बसोबास गर्ने गरेको छ ।
विश्वका धनी मुलुकहरुको समुहका रुपमा परिचित यस समहुले विकासोन्मुख मुलुकहरुको साझा समस्याका रुपमा रहेको ऋण, खाद्य असुरक्षा, जलवायु परिवर्तन लगायतका विषयमा केहीपनि गर्न नसकेको आरोप लाग्दै आएको छ ।