नगर विकास सम्बन्धी विश्वकै ठूलो संगठन सिटी नेटको नेपाल शाखाको अध्यक्षमा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला निर्वाचित भएका छन् । विराटनगरमा आज सम्पन्न साधारण सभाले कोइरालालाई अध्यक्ष चयन गरेको हो ।
राधाकृष्ण रथयात्रा अवलोकन समेतको अवसर पारेर सिटी नेटको साधारणसभा गरिएको हो । साधारणसभामा महानगरपालिकामध्ये पोखराका नगरप्रमुख धनराज आचार्य, ललितपुरका चिरीबाबु महर्जन, वीरगंजका राजेशमान सिंह थिए भने भरतपुरकी रेणु दाहाल र काठमाडौंका बालेन्द्र शाह अनुपस्थित रहे ।
सिटी नेटको अन्तर्राष्ट्रिय संगठनमा १ सय ५४ नगरपालिका सहित नगर सम्बन्धी काम गर्ने राष्ट्रसंघीय निकाय पनि सदस्य छन् । संगठनमा नेपालबाट भरतपुर, भीमदत्त, विराटनगर, वीरगंज, बुटवल, धनगढी, धरान, गोदावरी, हेटौंडा, काठमाडौं, ललितपुर, नेपालगंज, पोखरा, सिद्धार्थनगर र तानसेन नगरपालिका सदस्य रहेका छन् । बैठकमा धरानका हर्क राई पनि अनुपस्थित थिए ।
नगरहरूको दिगो विकासका लागि काम गर्न सिटी नेट सन् १९८७ मा गठन भएको हो ।