युवाहरुमा गाँजा सेवनको दुर्व्यसन बढ्दा अवैध कारोबार बढ्ने र अपराध समेत बढ्ने प्रवृत्ति देखिएको छ । कलेज पढ्ने युवाहरूलाई चुरोटबाट विस्तारै गाँजाको दुर्व्यसनमा फँसाउने र उनीहरूमार्फत् गाँजाको कारोबार गर्ने अर्कोथरि युवाको जमात बढ्दै गएको पीडित अभिभावकले जानकारी दिएका छन् । गाँजाको कारोबारबाट छोटो अवधिमै मोटो रकम आर्जन गर्ने होडबाजीमा साथीको हत्यामा संलग्न गाँजा कारोबारी र ज्यान मार्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं काँडाघारी बस्ने दोलखा मेलुङ गाउँपालिका-१ घर भएका २८ वर्षीय निर्मल बुढाथोकीको हत्या गरेको अभियोगमा दोलखा सैलुङ गाउँपालिका-८ घर भएका २६ वर्षीय सुजन उप्रेतीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
बेथानचोक गाउँपालिका-२ स्थित ढोलखोलामा मंगलबार बिहान निर्मल बुढाथोकी मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा सुजन उप्रेतीको संलग्नता रहेको खुल्न आएपछि ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले प्रहरी वृत्त लैनचौरको सहयोगमा काठमाडौं ढल्कुबाट पक्राउ उप्रेतीलाई गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरू लागूऔषध गाँजा खरिद गर्नको लागि बेथानचोक गएकोमा आपसी व्यापार वादविवादको क्रममा सुजनले निर्मलको हत्या गरेको खुल्न आएको हो । साथै बेथानचोकस्थित तीर्थराज तिमल्सिनाको घरमा बास बसेको खुल्न आएपछि तत्काल प्रहरी टोली खटिई गई तलासी गर्दा तीर्थराजको घरबाट सुजनको झोला, पासपोर्ट तथा अवैध लागूऔषध गाँजा ९ केजी ७७ ग्राम फेला पारी तीर्थराज समेतलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काभ्रेपालाञ्चोकबाट सुजन उपर ज्यान सम्बन्धी कसूर मुद्दामा ५ दिन र तिर्थराज उपर लागूऔषध सम्बन्धी कसूर मुद्दामा ७ दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौंका केही होस्टेल र केही पुनर्स्थापना केन्द्रमा गाँजा र गाँजा मिसिएका खानाको कारोबार हुने गरेको र त्यसका लागि विभिन्न जिल्लाबाट गाँजा ल्याउने होडबाजीमा अपराध बढ्दै गएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् ।
११/१२ कक्षा र स्नातक तहका विद्यार्थीलाई शुरुमा चुरोटको लतमा फँसाउने र पछि गाँजा लगायत लागु पदार्थको ग्राहक तथा कारोबारी बनाउने गरेको प्रहरीको भनाइ छ ।