डोल्पामा ११ केभी प्रसारण लाइन पुर्याउनका लागि अघिल्लो आर्थिक वर्षमा ठेक्का भए पनि काम सुरु हुन सकेको छैन । झण्डै सात करोड रुपैयाँको ठेक्का अघिल्लो वर्ष खोलिएको तर काम सुरु हुन नसकेको नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय कर्णालीका प्रमुख सुरेन्द्र अग्रहरिले बताए ।
जाजरकोट नलगाड नगरपालिकाको चौखा स्टेसनबाट डोल्पाको त्रिपुराकोटसम्मको कामको ठेक्का लिए पनि काम नगर्दा समस्या भइरहेको उनको भनाइ छ । यसको लम्बाइ झण्डै ४२ किलोमिटर रहेको छ । नमूना कन्स्ट्रक्सन रामेछापले ठेक्का लिएको उनले बताए । लाइन विस्तार भन्दा पहिला गरिने प्रि-कन्स्ट्रक्सन सर्भेका लागि काम भए पनि सो काम त्रुटिपूर्ण भएपछि फेरि सच्याउन तीन महिनाअघि पत्र लेखिएको उनले जानकारी दिए ।
सर्भे गर्दा गल्ती भएको ठाउँमा सच्याई तुरुन्तै काम गर्न आग्रह गरिएको तर ठेकेदार सम्पर्कमा नरहेको प्रमुख अग्रहरिले बताए । कोभिडको कारण देखाउँदै काम नगरेको निर्माण व्यवसायीलाई तुरुन्तै काम गर्न कार्यालयबाट ताकेता भइरहेको उनको भनाइ छ ।
जाजरकोटको नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीसम्म ११ केभी प्रसारण लाइन पुगिसकेको छ । त्यहाँबाट चौखासम्मको विद्युत् प्रसारण लाइनको कामसमेत भइरहेको छ ।
जाजरकोटतर्फको पूरा काम भएमा मात्र डोल्पासम्म विद्युतीकरण गर्नका लागि बाटो खुल्ने देखिन्छ । प्रदेश कार्यालयबाट त्रिपुरोकोटमा सवस्टेसन निर्माण गर्ने योजना रहेको छ भने केन्द्रबाट अन्य ठाउँमा पनि योजना रहेको बताइएको छ ।
त्यस्तै, जाजरकोटको बडाबन र समाइलामा तिहारलगत्तै बोलपत्र आह्वान हुने उनले बताए । जाजरकोटको बारेकोट, कुशे र जुनीचाँदेमा लाइन विस्तारका लागि ठेकेदारको लापरबाहीका कारण काममा बाधा उत्पन्न भएको छ । केही योजना केन्द्र र केही योजना प्रदेशबाट हुँदा काममा निगरानी कम भएको बताएको छ ।
११ केभी प्रसारण लाइन छिटो डोल्पा पुगेमा त्यहाँ निर्माण हुन लागेको जगदुल्ला हाइड्रोपावरको कामलाई समेत सहयोग पुग्ने देखिन्छ । अन्य संभाव्यता अध्ययन भइहेका भेरी ए, बी र सी आयोजनाको समेत काममा सहयोग पुग्ने अपेक्षा लिइएको छ । नलगाड नगरपालिका- ७ मा निर्माण हुन लागेको ४०० केभी प्रसारण लाइनको कामलाई समेत गति दिनका लागि पहल भइरहेको बताइएको छ ।
केन्द्रबाट हुने काममा सबैभन्दा कम निगरानी हुँदा परिणाम निकाल्न समस्या भएको कर्मचारीहरू बताउँछन् । कर्णाली प्रदेशका १० वटा जिल्लामध्ये सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम पश्चिम, जुम्ला र कालीकोट राष्ट्रिय प्रसारण लाइनको पहुँचमा जोडिएका छन् ।
कार्यालयका अनुसार प्रदेशभर सबैभन्दा बढी रुकुम पश्चिमका ७५.२ प्रतिशत र सबैभन्दा कम जाजरकोटमा १६.१५ प्रतिशत घरधुरी विद्युत्को पहुँचमा पुगका छन् ।
कार्यालय प्रमुख अग्रहरिका अनुसार सुर्खेतका ४८.१६ प्रतिशत, दैलेखका ४८.७३ प्रतिशत, कालीकोटका ४३.५७ प्रतिशत, मुगुमा १९.६४ प्रतिशत र हुम्लाका २९.६९ प्रतिशत घरधुरी विद्युत्को पहुँचमा रहेका छन् ।
यस्तै, सल्यानका ५२.८८ प्रतिशत, डोल्पाका २१.९ प्रतिशत र जुम्लाका १९.३ प्रतिशत घरधुरी विद्युत्को पहुँचमा छन् । कर्णाली प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा कर्णालीलाई अँध्यारोमुक्त बनाउने भन्दै ‘कर्णाली उज्यालो कार्यक्रम’ सुरु गरेको थियो ।