प्रतिनिधिसभा अन्तर्गत समितिको सभापति चयनका लागि आइतबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ ।
आइतबार बिहान १० देखि अपरान्ह ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।
महिला तथा सामाजिक समिति सभापतिका लागि एमाले सांसद किरणकुमार शाहले उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रस्तावकमा कांग्रेस सांसद शान्ति विक र एमाले सांसद अस्माकुमारी चौधरी समर्थक रहेका छन् ।
सार्वजनिक लेखा समिति सभापतिका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट ऋषिकेश पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् । पोखरेलको प्रस्तावकमा सत्तारुढ दल नेपाली कांग्रेसका सांसद राजेन्द्र केसी र समर्थकमा एमाले सांसद दामोदर भण्डारी रहेका छन् ।
एकीकृत समाजवादीले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा भानुभक्त जोशीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । संसदीय दलको बैठकले जोशीलाई शिक्षा समितिको सभापति उम्मेदवार बनाउने निर्णय गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापतिमा गणेश पराजुलीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।समिति सभापतिमा सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमालेबीच भागबन्डा भएको छ । उनीहरुका उम्मेदवारविरुद्ध रास्वपाले उम्मेदवारी दिने भएको हो ।
सत्ता गठबन्धन र प्रमुख विपक्षीबीच भएको भागबन्डामा उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापति जनमत पार्टीको भागमा परेको छ ।
प्रमुख दलको बाँडफाँड अनुसार कांग्रेसको भागमा परेका राज्य व्यवस्था समितिको सभापतिमा रामहरि खतिवडा, संसदीय सुनुवाइमा जीवन परियार, कृषिमा आरजु राणा तथा अर्थ समितिमा सन्तोष चालिसेको नाम टुंग्याएको हो ।
संसदीय समिति सभापतिमा सत्तारुढ र प्रमुख प्रतिपक्ष एमामलेबीच भागबन्डा गरिएको छ ।
प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको ९ महिना पछि आज संसदीय समितिको सभापतिका लागि उम्मेदवारी मनोनयन हुन लागेको हो ।