गाई, भैंसीमा लाग्ने लम्पी स्किन रोगका कारण विगत पाँच महिनामा १४ लाख ४६ हजार चार सय ५९ पशु बिरामी परेको कृषि मन्त्रालयले जनाएको छ । त्यस्तै ५२ हजार चार सय ४८ पशुको मृत्यु भएको र एक लाख पाँच हजार दुई सय ५३ पशु घाइते भएको पनि मन्त्रालयले उल्लेख गरेको छ ।
लम्पी स्किन रोगको रोकथाम र उपचारका लागि सरकारले सक्दो प्रयास गरिरहेको त्यसको भ्याक्सिन नेपालमा नबन्ने भएकाले जोर्डन, तान्जानिया र टर्कीबाट भ्याक्सिन मगाइएको पनि कृषि तथा पशुपक्षी विकास मन्त्री डा वेदुराम भुसालले सदनलाई जानकारी गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै मन्त्री भुसालले सरकारले हालसम्म १३ लाख ६९ हजार डोज भ्याक्सिन ल्याएर सात लाख छ हजार चार सय पशुमा लगाइएको पनि जानकारी गराए ।
किसानलाई निःशुल्क खोप उपलब्ध गराउने र आगामी दिनमा यो खोप नेपालमै उत्पादन गर्ने तयारी भइरहेको बताउँदै मन्त्री भुसालले मरेका पशुको बीमाको भुक्तानी दिने विषयमा निर्णय भइरहेको पनि उल्लेख गरे ।
लम्पी स्कीन रोग नियन्त्रका लागि पशुलाई भ्याक्सिन लगाउने, गोठ सफा राख्ने, पानी जम्ने खाल्डा पुर्नुपर्ने चिकित्सक बताउँछन् । लामखुट्टे, झिङ्गा, किर्नालगायत कीराको टोकाइबाट सर्ने यो रोग लागेपछि पशुलाई उच्च ज्वरो आउने, शरीरमा गिर्खा आउने र पाकेर घाउ आउने गर्दछन् ।
अफ्रिकी मुलुकमा अघिल्लो शताब्दीमै फैलिएको यो रोग एसियाली मुलुकमा सन् २०१९ मा र नेपालमा २०७७ सालमा मोरङ जिल्लाका गाईमा देखिएको थियो ।