अब विश्वविद्यालयहरुले परीक्षा सञ्चालन गरेको अन्तिम दिनदेखि ६० दिनभित्र परीक्षाफल प्रकाशन गर्नुपर्ने भएको छ । यसैगरि कक्षा १२ को परीक्षाफल सार्वजनिक नहुँदै भर्ना लिन नपाइने र परीक्षाफल प्रकाशन भएको ६० दिनभित्र स्नातक तहको भर्ना गरिसक्नुपर्ने व्यवस्था समेत गर्न लागिएको छ ।
विश्वविद्यालय अनुदान आयोगले तयार पारेको राष्ट्रिय शैक्षिक क्यालेन्डर अनुसार स्नातक तहको पहिलो सेमेस्टरको पढाई ढिलोमा मंसिर महिना भित्र शुरु गर्नुपर्ने र परीक्षा चैत्र मसान्त भित्र गरेर जेठको अन्तिम साता भित्र परीक्षाफल प्रकाशन गरिसक्नुपर्नेछ । यसैगरि दोस्रो सेमेस्टरको पढाई बैशाख महिनाको दोस्रो साता भित्र शुरु गरि भदौ महिनाको अन्तिम साता भित्र परीक्षा लिइसक्नुपर्नेछ ।
आयोगले विभिन्न विश्वविद्यालयका पदाधिकारी तथा सरोकारवालासंग छलफल गरी तयार पारेको राष्ट्रिय शैक्षिक क्यालेन्डर अनुसार स्नातक तहको परीक्षाफल प्रकाशन भएको मितिदेखि डेढ महिनाभित्र स्नातकोत्तर तहको भर्ना आवेदन र प्रवेश परीक्षा सम्पन्न गरीसक्नुपर्नेछ ।
स्नातकोत्तर तहको पढाई माघ महिनाको पहिलो साताभित्र शुरु गरी असारको पहिलो साता भित्र परीक्षा सञ्चालन गरिसक्नुपर्नेछ । साथै दोस्रो सेमेष्टरको पढाई साउन महिनाको दोस्रो सातादेखि शुरु गरी पुसको अन्तिम साता भित्र परीक्षा सञ्चालन गर्ने तालिका आयोगले तय गरेको छ ।
वार्षिक प्रणालीमा सञ्चालन हुने कार्यक्रमहरुकालागि समेत क्यालेन्डर तय गरेको आयोगले स्नातक तहको कक्षा सञ्चालन मंसिर १ गतेबाट शुरु गरी असोजको १५ गते भित्र परीक्षा सम्पन्न गर्नुपर्ने उल्लेख गरेको छ ।
नेपालका विश्वविद्यालयहरुको आ-आफ्नै शैक्षिक क्यालेन्डरहरु रहेको र क्यालेन्डर कार्यान्वयन नहुँदा विद्यार्थीको समय खेर गएको, शैक्षिक गुणस्तरमा ह्रास आएको र यसले उच्च शैक्षिक संस्थाहरुको राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा नै विश्वसनीयतामा कमी आएको भन्दै आयोगले राष्ट्रिय शैक्षिक क्यालेन्डर बनाएको हो ।
नेपालमा सञ्चालनमा रहेका विश्वविद्यालय तथा उच्च शैक्षिक संस्थाहरुबीच विद्यार्थी भर्ना, परीक्षा र परीक्षाफल प्रकाशन जस्ता महत्वपूर्ण शैक्षिक गतिविधिहरुमा एकरुपता कायम गर्न क्यालेन्डर बनाइएको आयोगले जनाएको छ ।
क्यालेन्डर पालना नगर्ने विश्वविद्यालयलाई कार्यसम्पादनका आधारमा दिइने रकम घटाउन सकिने बताउँदै आयोगका अध्यक्ष प्रा. डा. देवराज अधिकारीले आफ्नो विश्वविद्यालयको विश्वसनीयता कायम राख्नपनि क्यालेन्डर कार्यान्वयन हुने विश्वास व्यक्त गरे ।
सबैभन्दा धेरै विद्यार्थी भएको त्रिभुवन विश्वविद्यालयले समेत यस क्यालेन्डरको पालना गर्ने आशा व्यक्त गर्दै विश्वविद्यालयका पदाधिकारीको संलग्नतामै क्यालेन्डर बनाइएको बताए ।