बैंकर अश्विनकुमार पुडासैनीद्वारा लिखित ‘समृद्धिको हुटहुटी’ (सुशासन र समृद्धिका १०१ पाइला) नामक पुस्तक आज राजधानीमा विमोचन गरिएको छ । डा अरुण मास्के, लेखक पुडासैनी, समीक्षकद्वय डा ध्रुव आचार्य र प्राध्यापक कृष्ण हाछेथु, नेपाल बैंक लिमिटेटका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी, पर्यटन व्यवसायी ज्योति अधिकारी र दिव्या देउराली प्रकाशनका प्रबन्ध सञ्चालक शालिग्राम खनालले संयुक्तरूपमा सो पुस्तकको विमोचन गरेका हुन् ।
गत वर्ष साउन २६ गते हृदयघात भई बिरामी भएका लेखक पुडासैनीले मृत्युको भयबाट मुक्त भए पश्चातको चिन्तनमननका क्रममा अर्थपूर्ण जीवन जीउन आफ्नै पालामा देशको सुशासन र समृद्धिका लागि टिपोट गरेर सविस्तार गरिएको समृद्धिको हुटहुटी पुस्तक लेखेको बताए ।
कार्यक्रममा पुस्तक समीक्षककर्ता डा. आचार्यले वित्तीय, शैक्षिक, प्राकृतिक, स्वास्थ्यलगायत सबै पक्षलाई समेटी बाल्यकालदेखि मृत्यु संस्कारसम्मको विषय समेटिएको उल्लेख गरे ।
त्यस्तै अर्का समीक्षक प्राध्यापक हाछेथुले पुस्तकमा सिर्जनशीलता र कृत्रिमता रहेको बताउँदै लेखकले पुस्तकमा राखेका पाइला कसैको आग्रह पूर्वाग्रहमा नरहेको र लोक कल्याणकारी राज्यतर्फ उन्मुख रहेको धारणा राखेका थिए ।
बिरामी हुँदा पुडासैनीको उपचार गर्ने डा मास्केले स्वास्थ उपचार, प्रत्येक नेपालीको बैंक खाता, जन्मदर्तामा स्वास्थ्य बीमा, सर्वसुलभ इन्टरनेट, निःशुल्क अन्तिम संस्कार लगायतका विषयवस्तु समेटिएको पुस्तकमा सिर्जनशीलता रहेको बताएका थिए ।
लेखकको यसअघि २०७७ मा बत्तिमुनि उज्यालो प्रकाशित भएको थियो । लेखक हाल नेपाल बैंक लिमिटेडको प्रधान कार्यालयमा वरिष्ठ प्रबन्धकका रूपमा कार्य गरिरहेका छन् ।