त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले आफु फिरन्ते उपकुलपति भएको बताएका छन् ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उपकुलपति बाँस्कोटाले आफ्नो कार्यालयमा विगत ४१ दिनदेखि ताला लागेका कारण विभिन्न कार्यालयमा फिर्दै काम गर्नुपरेकाले आफु फिरन्ते भएको बताएका हुन् ।
यसअघि पनि ३ सय १४ दिन उपलकुलपतिको कार्यालयमा ताला लाग्दा कहिले कुन, कहिले कुन कार्यालयबाट काम गरेको उल्लेख गर्दै प्रा.डा. बास्कोटाले अहिले विश्वविद्यालयसंग सम्बन्धनै नभएको समुहले विश्वविद्यालयमा ताला लगाएको उल्लेख गरे ।
विश्वविद्यालयमा प्राध्यापक तथा क्याम्पस प्रमुखहरुले तनावमा काम गर्नुपरेको, प्राध्यापक कुट्नेको मुद्दा सरकारले फिर्ता लिएको बताउँदै उपकुलपति बास्कोटाले क्याम्पस प्रमुख क्याम्पसमा जाँदा युद्धभूमिमा गएसरहको अवस्था सृजना भएको पनि बताए।
एक बर्षदेखि सेवा आयोगको अध्यक्षको पद रिक्त हुँदा कर्मचारी तथा प्राध्यापकको नियुक्ति र वृत्ति विकासको काम गर्न नसकिएको बताउँदै विश्वविद्यालयको आकार ठुलो भएका कारण पुन:र्संरचना गर्ने प्रस्ताव तीन बर्षदेखि शिक्षा मन्त्रालय र प्रधानमन्त्रीको कार्यालयमा अड्किएको जानकारी गराए ।
त्यस बखत सांसदहरुले त्रिभुवन विश्वविद्यालयले शैक्षिक क्यालेन्डर कायम गर्न नसकेको, गलत प्रश्नपत्र बनाउने तथा उपप्राध्यापक कुट्नेलाई कारवाही गर्न नसकेको भन्दै आलोचना गरेका थिए । शिक्षाका बारेमा विद्यार्थीको अपेक्षाका बारेमा कुनैपनि अनुसन्धान नगरेको विश्वविद्यालयले पाठ्यक्रमकासाथै भौतिक सुधारमा चासो नदिएको आरोप पनि सांसदहरुले लगाएका थिए ।