आज साउने १५ । खीर खाने प्रचलन । नेपाली समाजमा असार १५ गते दहीच्यूरा र साउन १५ गते खीर खाने प्राचीनकालदेखिको परम्परा रहेको छ । साउने झरी पर्ने बेलामा खाइने तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको विश्वास गरिन्छ । यस समय गाउँघरमा खेतीपातीको काम सकिने, घाँस बढी पाइने र गाई, भैँसीले समेत धेरै दूध दिने गरेकाले इष्टमित्र, चेलीबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको मान्यता छ ।
साउन महिनालाई भगवान् शिवको महिनाका रुपमा समेत लिइन्छ र शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खीरलगायतका पदार्थहरु विधिपूर्वक चढाउने गरिन्छ । संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा समेत महत्त्वपूर्ण वस्तुका रुपमा लिने गरिएको धर्मशास्त्रविद् बताउँछन् । चामल, साबुदाना, सेवइ, मकै, गाजर लगायतको खीर बनाउने गरिन्छ । साबुदाना–सावधानालाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खीरसमेत बनाएर खाने चलन छ ।
खीर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रहिआएको छ । नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ठ खाद्य पदार्थ, पायस, तस्मै’ भनी खीरलाई परिभाषित गरेको छ । नेपाली समाजमा असार १५ गते दहीच्यूरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घीउ खट्टे, माघ १५ गते मालपुवालगायत चीजबीज बनाएर इष्टमित्र एवम् छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहिआएको छ ।
राष्ट्रिय दुग्ध विकास बोर्डले समेत साउन १५ लाई खीर खाने दिन अर्थात् खीर दिवसका रुपमा मनाउने गरेको छ । नेपालको खाद्य नियमावलीअनुसार मानक प्रशोधित दूधमा हुने तीन प्रतिशत चिल्लो, ४ दशमलव ७ प्रतिशत ल्याक्टोज र ३ दशमलव ५ प्रतिशत प्रोटिनको गणना गर्दा प्रति एक सय ग्राम प्रशोधित दूधबाट ६० प्रतिशत क्यालोरी शक्ति प्राप्त हुने उल्लेख छ ।।